अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

अवकाश उमेर हद ‘६० वर्ष’

बिआरटीनेपाल २०७३ मंसिर २१ गते २०:०९ मा प्रकाशित

सरकारले निजामती कर्मचारीको अवकाश उमेर हद दुई वर्ष बढाउने तयारी गरेको छ। सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अनिवार्य अवकाश उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्‍याउन प्रक्रिया अघि बढाएको हो।

मन्त्रालयले कर्मचारीको उमेर हद बढाउन निजामति सेवा ऐनको संशोधन मस्यौदा तयार पारेको छ। मस्यौदामाथि परामर्स जारी रहेको मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले जानकारी दिए। उनका अनुसार स्वास्थ्य सेवा र संसदका कर्मचारीको उमेर हद ६० वर्ष रहेकाले सबैलाई समान गर्न निजामती कर्मचारीको उमेर हद पनि दुई वर्ष बढाउन लागिएको हो।

‘अहिले हामी कानुनी परामर्शमै छौं,’ उनले भने, ‘सबैको सुझावपछि विधेयक पास गर्ने प्रक्रिया सुरु हुनेछ।’ उनले कर्मचारीको अवकाश उमेर हद बढाउनेबित्तिकै राज्यलाई पेन्सनको दायित्वमा समेत कमी आउने बताए।

‘छिटोछिटो अवकाश पाउँदा राज्यलाई पेन्सनको भार बढ्दै गइरहेको छ,’ उनले भने, ‘यो व्यवस्थापछि पेन्सनमा पर्न जाने भार कम हुन्छ ।’ उनले ऐन संशोधन गरेर पेन्सनको भार कम गर्न पेन्सन कोषसमेत बनाउन लागिएको जानकारी दिए । कर्मचारीले अवकाशपछि सोही कोषबाट रकम पाउनेछन्। पेन्सन कोषमा सरकारी कर्मचारीले जागिर अवधिभर पाउने तलबबाट मासिक १० प्रतिशतका दरले कट्टा गरी जम्मा हुने छ । त्यति नै रकम सरकारले जम्मा गरिदिनेछ । यसरी कोषमा जम्मा भएको रकम कर्मचारीले सेवाबाट अवकाश भएपछि पाउने छन् । पेन्सन कोषको व्यवस्था सञ्चय कोषजस्तै हुनेछ। पेन्सन कोषको व्यवस्था लागू भए पनि कर्मचारीले सञ्चय कोष सुविधा पनि पाइरहने सचिव भट्टराईले जानकारी दिए ।

कर्मचारीको उमेर हद बढाउन लोकसेवा आयोग र प्रशासन सुधार सुझाव समिति २०७० को प्रतिवेदनमा पनि सुझाइएको थियो । मन्त्रालयले कानुन परिमार्जन प्रस्ताव गर्न मन्त्रिपरिषद्ले दिएको निर्देशनअनुसार संशोधन मस्यौदा तयार पारेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू