अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३८ | Colorodo: 05:53

भिटामिनको भण्डार गोलभेँडा

बिआरटीनेपाल २०७३ मंसिर ३ गते ७:०५ मा प्रकाशित

काठमाडौँ – नेपाली भान्छामा अचारका रूपमा प्रयोग गरिने, तरकारीमा प्रयोग गरिने र सलादका रूपमा खाइने खाद्य पदार्थ हो, गोलभेँडा । पाकेको गोलभेँडा हेर्नमा जति आकर्षक देखिन्छ, उति नै लाभकारी पनि मानिन्छ ।

गोलभेँडाको इतिहास निकै पुरानो छ । १५ औँ शताब्दीमा अमेरिकाको रोलको टापुमा सबैभन्दा पहिले गोलभेँडा देखिएको विश्वास गरिन्छ । यसलाई सर वाल्टर रेलेले पत्ता लगाएका थिए । सुरुमा यसलाई विषालु फल सम्झेर भान्सामा प्रयोग गरिँदैनथ्यो । युरोपमा गोलभेँडा बगैंचा सजाउनका लागि मात्र प्रयोग गरिन्थ्यो । त्यतिखेर मानिसहरू यसलाई ‘लभ एप्पल’ पनि भन्थे ।

भारतमा गोलभेँडा भित्र्याउने श्रेय मेक्सिकोबासीलाई जान्छ । उनीहरूले लभ एप्पलका रूपमा यसलाई ल्याएका थिए, तर भारतीयहरूले बेलायती भन्टा नाम दिए । केही मानिसहरू यसको गुण–दोषका बारेमा थाहा नपाएका कारण ‘अनजान फल’ पनि भन्थे । यसका बारेमा थाहा पाएपछि गोलभेँडा भान्साको सान बन्न पुग्यो ।

गोलभेँडा गुलियो, अमिलो, पाचक, शक्तिबद्र्धक र रुचिबद्र्धक हुनुका साथै यसले अतिसार, पेट र मोटोपना रोक्ने औषधिको पनि काम गर्छ । यसमा लौह तत्वको मात्र दूधभन्दा दुई गुणा र अंगुर, मौसम, तरबुजा तथा खरबुजाको तुलनामा बढी पाइन्छ । गोलभेँडामा क्याल्सियम, चुना, गन्धक, साइट्रिक एसिडलगायतका तत्त्व पाइन्छ । गोलभेँडा भिटामिनको भण्डार हुन्छ ।

यो स्वादको राजा हो, जसले भोक बढाउनमा सहयोग गर्छ । गोलभेँडा सेवन गर्दा कब्जियतको समस्या समाधान हुन्छ, रक्त विकारबाट मुक्ति मिल्छ, सुख्खा, एक्जिमाजस्ता रोगमा रामबाण मानिन्छ । गोलभेँडा खाने मानिसमा मधुमेह, रुघा, दाँतको समस्या, रक्तस्रावजस्ता रोग लाग्दैन । साथै नेत्र रोगको समस्या पनि हुँदैन ।

त्यसो त गोलभेँडा खानाले गम्भीर रोग पनि लाग्छ, जसमा क्यान्सर, पत्थरी, जोर्नी दुख्ने रोग, टाउको दुखाई, कमर दुखाइ पर्छ । यसकारण सन्तुलित मात्रामा नियमित गोलभेँडाको सेवन स्वास्थ्यबद्र्धक हुन्छ भने बढी सेवन कष्टकारक पनि बन्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू