अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

क्यान्सर पीडित १२ वर्षीय उत्सव धिमालका लागि डेढ लाख संकलन

बिआरटीनेपाल २०७३ कार्तिक २२ गते ९:०० मा प्रकाशित

मोरङको पथरीशनिश्चरे ८ जिरिखिम्तीका क्यान्सर पीडित १२ वर्षीय उत्सव धिमालको उपचारका लागि स्थानीयले हालसम्म डेढ लाख बढी रकम सहयोग संकलन गरेका छन् ।

पछिल्लो पटक जिरिखिम्ती टोलबाट ४९ हजार ४५, सोही टोलको डाँसमोरङ्गी सामुदायिक वन समूहबाट ५ हजार, अमेरिकामा रहनुभएका प्रदिप कटुवालबाट ३ हजार ७ सय ७० गरी कुल ५७ हजार ८ सय १५ रुपैयाँ संकलन भएको छ ।

सो रकम आज एक कार्यक्रमकाबीच उत्सव धिमाल बचाउ अभियानका संयोजक साजन धिमाल र संरक्षक संस्था एभरेष्ट बोर्डिङका प्रमुख रविन कन्दङ्वाले उत्सवका बुबा छत्रबहादुर धिमाललाई हस्तान्तरण गर्नुभएको छ ।

टाउकाको क्यान्सर भएका विपन्न परिवारका उत्सवको उपचारमा समस्या भएपछि नेकपा एमाले तथा त्रिवेणी युवा समूहको अगुवाईमा ऐयावारीबाट ९५ हजार १ सय ११ रुपैयाँ संकलन गरी हिजो हस्तान्तरण भएको थियो ।

संकलित सो रकम एक कार्यक्रमकाबीच मोरङ २ का सांसद चण्डीप्रसाद राईमार्फत पीडितका बाबु छत्रबहादुर धिमाललाई हस्तान्तरण गरिएको छ ।

सो अवसरमा सांसद राईले आफ्नोतर्फबाट २ हजार रुपैयाँ प्रदान गर्नुभयो ।

उत्सवको काठमाडौंस्थित दीर्घायु अस्पतालमा ब्रेन ट्यूमर भनेर शल्यक्रिया गरेपनि क्यान्सर नै भइसकेको भन्दै बम्बइको टाटा हस्पिटलले किमोथेरापि विधिबाट उपचार गरिरहेको छ ।

शल्यक्रिया, त्यसपछिको किमोथेरापी सहितका उपचारमा घर समेत धितो राखेर हालसम्म १८ लाख बढी रकम खर्च भइसकेको छ ।
उत्सवलाई बचाउनका लागि साजन धिमालको संयोजकत्वमा ‘उत्सव धिमाल बचाउँ अभियान समिति’ खडा गरी आर्थिक संकलन कार्य अगाडि बढाइएको छ ।

पथरीस्थित एभरेष्ट माविमा कक्षा ६ मा अध्ययनरत उत्सवलाई बचाउन एभरेष्ट मावि, जिरिखिम्तीस्थित डाँसमोरङ्गी सामुदायिक बन र धिमाल जातीय विकास केन्द्र संरक्षक सदस्यका रुपमा रही अभियानमा सामेल भएको छ ।

उत्सवका लागि सहयोग संकलन गर्न छत्रबहादुर धिमाल, राजु बस्नेत र सूर्य धिमालको नाममा राष्ट्यि वाणिज्य वैंक शाखा पथरीमा २५६०००१९६८१० नम्बरको बैंक खाता खोलिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू