अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१२ | Colorodo: 22:27

राहुल महरालाई पुर्पक्षका लागि थुनामै राख्न उच्च अदालतको आदेश

बिआरटीनेपाल २०८० माघ ११ गते ६:२३ मा प्रकाशित

भेपमार्फत् ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका राहुल महरालाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ। बिहीबार न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र दिपेन्द्र अधिकारीको इजलासले उनी र अर्का अभियुक्त लोकेन्द्रकुमार पौडेललाई जिल्ला अदालत काठमाडौंले गरेको आदेश सदर गरेको उपरजिस्ट्रार तीर्थराज भट्टराईले जानकारी दिनुभयो

राहुल पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन्। काठमाडौं जिल्ला अदालतले गत असोज २६ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। पौडेललाई पुर्पक्षको लागि ५ लाख रुपैयाँ धरौटी माग गरेको थियो।आपराधिक विश्वासघात, संगठित अपराध कसुर र भन्सार चोरी पैठारीमा केन्द्रीय अनुसन्धान ब्युरोले यस कसुरमा चार जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

राहुल महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा गुरूङविरूद्ध मुद्दा दायर भएको थियो। निमा फरार छिन्। लोकेन्‍द्रकुमार सुन तस्करी प्रकरणमा प्रमुख व्यक्ति दाओजिन वाङका सवारी चालक हुन्। दावा ब्रेक शुमार्फत् ६० किलो ७१६ ग्राम सुन तस्करी गरेको प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा छन्। दावालाई उच्चले उक्त कसुरमा पुर्पक्षका लागि थुनामुक्त गरेको छैन।

२०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन थियो।८ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बराबरको सुन भन्सार कार्यालयबाट चोरी भएपछि यो घटना बाहिरिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले अनुसन्धान गरी पाँच जनाविरूद्ध मुद्दा चलाएको थियो। सुन बरामद गरेपछि राहुल महरा, कृष्णबहादुर महरा लगायतले सामान छुटाउन दबाब दिएका थिए। उनीहरूको पनि कनेक्सन देखिएपछि सिआइबीले अनुसन्धान गरेको हो। सिआइबीले राहुल महरालाई पक्राउ गरे पनि पूर्वसभामुख कृष्णबहादुर महरासँग भने कागज मात्रै गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू