अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४१ | Colorodo: 22:56

मनाङको तापक्रम माइनस २२ डिग्री, पिउने पानीको जोहो गर्न मुस्किल, चिसोले ग्याससमेत बल्न छाड्यो

बिआरटीनेपाल २०८० माघ ११ गते ५:२० मा प्रकाशित

हिमाली जिल्ला मनाङको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । मनाङमा दिउँसोको समयमै तापक्रम माइनस १२ डिग्री पुग्ने गरेको छ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ ।चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो । उहाँका अनुसार चिसोले धारामा पानी जमेको छ, हिउँ कम भए पनि चिसोले ग्यास बलेको छैन, गाडीको आउजाउ कम छ, पिउने पानी जोहो गर्नै मुस्किल छ । चिसो बढेसँगै मनाङमा पूर्वाधारका काम मङ्सिरदेखि नै ठप्प भएको प्रमुख जिल्ला अधिकारी लामिछानेले जानकारी दिनुभयो ।

मनाङको माथिल्लो क्षेत्रका बासिन्दा अहिले चिसो छल्न बाहिर गएका छन् । अहिले सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रबाहेक अन्य सेवा प्रवाहमा समेत सकस भएको उहाँले जानकारी दिनुभयो ।पहिलो हिमपात हुनासाथ स्थानीयहरु लमजुङ, काठमाण्डौ, पोखरा लगायतका ठाउँतर्फ झर्ने क्रम जारी रहेको प्रशासन कार्यालयले जनाएको छ । स्थानीय नै नभएपछि नार्पाभूमि गाउँपालिकामा रहेका दुई वटा प्रहरी चौकी सदरमुकाम सारिएको लामिछानेले जानकारी दिनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) एकाइ कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले चिसोमा पर्यटकको सङ्ख्या घटेको बताउनुभयो । मनाङमा फागुनको पहिलो हप्तादेखि खेतीपातीको समय शुरु हुन्छ । त्यही बेला बेसीमा झारिएका गोठ लेकका खर्कतर्फ लैजाने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू