अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२८ | Colorodo: 20:43

सरकारले गैरआवासीय नेपाली संघसँगको चलखेल तत्काल बन्द गर्नुपर्छ : उपाध्यक्ष पौडेल

बिआरटीनेपाल २०८० माघ ९ गते ५:३३ मा प्रकाशित

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले गैरआवासीय नेपाल संघ (एनआरएनए) माथि सरकार आफैंले चलखेल गरिरहेको आरोप लगाउनुभएको छ । एनआरएनएभित्र झगडा निम्त्याएर वर्तमान सरकार र सत्तारुढ दलहरुले तमासा देखाइरहेको उल्लेख गर्दै उपाध्यक्ष पौडेलले त्यस्तो कार्य तत्काल बन्द हुनुपर्ने पनि बताउनु भयो । एनआरएनएको हालै सम्पन्न निर्वाचनमा निर्वाचित कार्य समितिमाथि अविश्वास खडा गरेर सरकारले नै उनीहरुलाई कुनै राजनीतिक दलको भ्रातृ संगठनको जस्तो व्यवहार गरेको जिकिर गर्दै उपाध्यक्ष पौडेलले त्यस्तो काम सरकार र राजनीतिक दलहरुले कुनैपनि बहानामा नहुने बताउनुभयो ।

एनआरएनएले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपाध्यक्ष पौडेलले एनआरएनए कोष परिचालनमा कन्जुस्याँई नगर्न पनि सरकारलाई दबाब दिनुभयो । सरकारले सो कोषको परिचालनमा कन्जुस्याँई गरेका कारण गैर आवासीय नेपालीहरुले ठूलो परियोजनामा लगानी गर्ने अवस्था नरहेको उपाध्यक्ष पौडेलको दाबी थियो । उहाँले गैर आवासीय नेपालीहरुले नागरिकता पाउने र त्यसको पूर्ण रुपमा उपयोग गर्ने कुरामा आफ्नो पार्टी प्रतिवद्ध रहेको समेत बताउनुभयो ।कार्यक्रममा बोल्दै सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अब्बल भएर काम गर्न एनआरएनएका नेतृत्वलाई आग्रह गर्नुभयो । संगठनमा आवद्ध सबैलाई एकतावद्ध भएर अघि बढे मात्रै संगठन र राष्ट्रको प्रतिष्ठा बढ्ने भएकाले सबैलाई समेटेर एनआरएनए अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।

सत्तारुढ नेपाली कांग्रेसका नेता शंकर भण्डारीले नेपालमा राजनीतिक स्थायित्व नभएका कारण देशलाई अघि बढाउन सक्ने अवस्था नभएको बताउनुभयो । उहाँले राजनीतिक दलहरु आफैं भित्र समस्या भएकाले उनीहरुले देशको पक्षमा काम गर्नसक्ने अवस्था नभएको बताउनुभयो । कांग्रेस नेता भण्डारीले संविधानलाई माध्यम बनाएर नेताहरुले आफ्नो स्वार्थपूर्ति गरिरहेको आरोप समेत लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू