अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१७ | Colorodo: 01:32

व्यवसाय फस्टाउन बजारीकरण आवश्यक : सञ्चारमन्त्री शर्मा

बिआरटीनेपाल २०८० माघ ८ गते ४:५२ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कुनै पनि व्यवसाय फस्टाउनका लागि बजारीकरण आवश्यक रहेकामा जोड दिनुभएको छ । रेडियो र टेलिभिजनको व्यवसाय प्रवर्द्धनमा संलग्न जनशक्तिका लागि विज्ञापन बोर्डले सोमबार काठमाडौंमा आयोजना गरेको क्षमता विकास कार्यक्रममा सञ्चारमन्त्री शर्माले आजको युग बजारीकरणको भएको बताउँदै जुनसुकै व्यवसाय बजारीकरणबिना फस्टाउन नसक्ने उल्लेख गर्नुभयो ।

विज्ञापनमा हुने चुहावट नियन्त्रणका लागि विज्ञापन नियमावली संशोधन गरिएको जानकारी गराउँदै मन्त्री शर्माले अब यस क्षेत्रमा विज्ञापन एजेन्सीले १५ प्रतिशत मात्र शुल्क लिन पाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले आथिक मन्दीको प्रभाव विज्ञापन क्षेत्रमा पनि परेकाले विज्ञापनबापत कम रकम पाउँदा सञ्चारमाध्यमले श्रमजीवी पत्रकार र कामदारको पारिश्रमिक दिन नसकेको गुनासो सुनिएको सन्दर्भमा यसले केही हदसम्म समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो ।मन्त्री शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ठूलो संघर्ष गरेका मिडियाको प्रवर्द्धन गर्न सरकारले आवश्यक पहल गरिरहेको बताउनुभयो ।

कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले विज्ञापन बजार नियमनका लागि बोर्डले विभिन्न काम गरिरहेको जानकारी गराउँदै आगामी फागुनदेखि बोर्डबाट पारित गरेरमात्र विज्ञापन प्रसारण गर्न पाइने व्यवस्था गर्न लागिएको बताउनुभयो । नेपाल विज्ञापन संघका अध्यक्ष सुदीप थापाले विज्ञापन बजार खुम्चिएका बेला हरेक सञ्चारमाध्यमले एकअर्काको अस्तित्व स्वीकार गरेर काम गर्दामात्र सञ्चार उद्योग जोगिने धारणा व्यक्त गर्नुभयो ।

बोर्डका सदस्य चेतन अधिकारीले हालसम्म समाचारमा संलग्न जनशक्तिका लागिमात्र विभिन्न कार्यक्रम हुने गरेको अवस्थामा बोर्डले व्यस्थापनमा संलग्न जनशक्तिलाई लक्षित गरी यो कार्यक्रम गरेको बताउनुभयो । दुई दिनसम्म हुने उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यमको व्यवस्थापन र बजार क्षेत्रमा कार्यरत व्यक्तिको सहभागिता छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू