अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

वीर अस्पतालमा २६१ जना जनशक्ति थप गर्दैछौं : स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०८० माघ ८ गते ४:५० मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताएको छ । सोमबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको बताउनुभयो । सचिव गुरागाईंले केही दिनभित्रै लोकसेवाको सेड्युलबाट विज्ञापनमा आउने बताउनुभयो । उहाँले केही समयअघि करारमा रहेका वीर अस्पतालका २२१ जना कर्मचारी हटाइएको बारे सञ्चारमाध्यममा फरक ढंगले प्रचार गरिएको बताउनुभयो ।

सचिव गुरागाईंले २२१ करारका कर्मचारीहरु कोरोनाका लागि राखिएको र गत साल नै निकाल्नुपर्नेमा मन्त्रालयले स्थायी दरबन्दी ल्याउन नसकेकाले राखिरहेको बताउनुभयो । उहाँले अहिले दशैँअघिदेखि नै ३ सय जना स्वास्थ्य जनशक्ति लोकसेवाबाट सिफारिस भएर काम गरिरहेको बताउनुभयो ।

समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोषिमा कार्कीले वीर अस्पतालका २२१ जना करारका कर्मचारीहरु एकै पटक किन हटाउनुपरेको भन्दै प्रश्न गर्नुभयो । उहाँले करारकै कर्मचारी निकालेर पुनः करारकै कर्मचारी किन राखियो ? भन्दै प्रश्न गर्नुभयो । सांसद कार्कीले करारका कर्मचारीहरुलाई नै स्थायी दरबन्दी सिर्जना गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू