अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२३ | Colorodo: 05:38

साउदीमा मदिरा उत्पादन तथा ओसारपसार अभियोगमा २९६ जना नेपाली जेलमा, कम्पनी छोडेर भाग्‍ने बढे

बिआरटीनेपाल २०८० पुष ६ गते ६:४३ मा प्रकाशित

खाडी मुलुकमध्ये साउदी अरेबियालाई वैदेशिक रोजगारको लागि अवसरको रूपमा हेरिन्छ। जहाँ ४ लाख नेपाली कार्यरत छन्। रोजगारीको लागि जाने संख्या पनि उल्लेखनीय छ। तर, पछिल्लो समयमा साउदीमा रहेका नेपालीहरू विभिन्न प्रलोभनमा परी कानुन र नियम विपरीत काम गर्दा जेल पर्ने गरेका छन्। दूतावास रियादमा कार्यरत श्रमसहचारी देवेन्द्र कार्कीका अनुसार हालसम्म विभिन्न अपराधमा संलग्न ४ सय ८० जना नेपाली जेल परेका छन्।

तीमध्ये २ सय ९६ जना मदिरा उत्पादन, सेवन र ओसारपसारमा संलग्न रहेको पाइएको हो। ९९ जना लागु‍औषध ओसारपसारमा जेल परेका छन् भने बाँकी ८५ जना चोरी, महिला जिस्काउने र अन्यमा कसूरमा जेल परेको दूतावासका सहचारी कार्कीले जानकारी दिनुभयो। वैदेशिक रोजगारीका क्रममा साउदी अरेबिया पुगेका नेपालीहरू कार्यरत कम्पनी छोडेर भाग्ने संख्या पनि दैनिकरूपमा बढिरहेको पाइएको छ। साथै हालः श्रम सम्झौताभन्दा बढी लोभ गर्ने र जसरी पनि पैसा कमाउन कानुन विपरीत काम गर्नेहरू समस्यामा परेपछि कम्पनी छोडेर भाग्ने गरेका हुन्।

नेपाली दूतावासका अनुसार हालसम्म कम्पनी छोडेर भाग्नेको संख्या १२ हजार बढी रहेको छ। साउदी अरेबिया पठाउने नेपाली कामदारूको कार्यरत कम्पनी, तोकिएको काम तथा समयमा तलब सेवा सुविधाको उपलब्ध नगराई नेपालीलाई अलपत्र पार्ने २० मेनपावरको कामकारबाहीमा दूतावासले रोक लगाएको छ। द्वितीय सचिव टीकाराम उपाध्यायले साउदीमा कार्यरत नेपाली कामदारको मृत्यु संख्या बढ्दो रहेकाले यसलाई रोक्न खानपिन र स्वास्थ्य सुरक्षामा जोड दिन आग्रह समेत गर्नुभएको छ। मंसिरभित्र १३ जना नेपालीको मृत्यु भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू