अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५६ | Colorodo: 00:11

सरकार फेरबदलको कुरा भएको छैन : कांग्रेस महामन्त्री शर्मा

बिआरटीनेपाल २०८० मंसिर १९ गते ५:३३ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताउनुभएको छ । नेपाल प्रेस युनियन बाजुरा शाखाले आज मङ्गलवार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमासमेत कुनै कुरा नभएको बताउनुभएको हो । महामन्त्री शर्माले सरकारबाट भएका कमी कमजोरीको  आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने उल्लेख गर्नुभयो । नेपाली कांग्रेसकै सरकार हुँदा पनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको उहाँको भनाइ थियो ।

सरकारले गर्ने हरेक गतिविधिमा निगरानी गरेर गलत भए खबरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने महामन्त्री शर्माले प्रतिबद्धता जनाउनुभयो ।  पार्टीले आयोजना गर्न लागेको महासमितिको अधिवेशन नेतृत्व चयन नभएर नीति बनाउने अधिवेशन भएको प्रष्ट पार्दै उहाँले महासमितिको अधिवेशनमा नेतृत्वका लागि चयनभन्दा पनि नीति बनाउने चिन्ता पार्टीका नेतामा हुनुपर्नेमा जोड दिनुभयो । महामन्त्री शर्माले भन्नुभयो, ‘मिसन ८४ का लागि चिन्ता लिन पर्दैन, २०८१–८३ सालसम्म देशलाई कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्नेमा चिन्ता गर्नुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू