अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०६ | Colorodo: 20:21

मुस्ताङमा यस वर्षको पहिलो हिमपात

बिआरटीनेपाल २०८० मंसिर १८ गते ६:१० मा प्रकाशित

हिमालपारीको जिल्ला मुस्ताङमा यसवर्षको पहिलो हिमपात भएको छ । आज सोमवार बिहानैदेखि मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । उपल्लो मुस्ताङको लोमान्थाङदेखि जिल्ला सदरमुकाम जोमसोम र तल्लो क्षेत्र घाँसासम्म हिमपात भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले टेलिफोनमा जानकारी दिनुभयो । पाँचवटा गाउँपालिका रहेको मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड, बाह्रगुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाको सबै क्षेत्रमा हिमपात भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो । यो समाचार तयार पार्दासम्म अहिले पनि मुस्ताङमा हिमपात भैरहेको छ । मुस्ताङको माथिल्लो क्षेत्रमा झण्डै २ फिटसम्म हिउँ जमेको अनुमान गरिएको छ । हिमपात भएपछि मुस्ताङमा चिसो बढेको छ । हिमपातका कारण मुस्ताङका स्थानीयवासी कोही हिउँ पन्छाउन लागेका छन् भने कोही घरभित्र बसेर आगो तापिरहेका छन् ।

हिमपात भएर एक्कासी चिसो बढेपछि घर बाहिर निस्कन पनि समस्या भएको छ । मुस्ताङ सदरमुकाम जोमसोमको तापक्रम माइनस ३ डिग्री सेल्सियसमा पुगेको जनाइएको छ । चिसोबाट जोगिन घरभित्रै बस्न, तातो खानेकुरा खान र न्यानो कपडा लगाउन स्थानीयलाई अनुरोध गरिएको छ।यसैगरी जोमसोम विमानस्थलमा आज एउटा मात्रै हवाई उडान भएपछि उडान रोकिएको छ । दुई वटा उडान हुने तालिका रहे पनि मौसम प्रतिकुल बनेपछि पोखराबाट जोमसोमका लागि एउटा मात्रै हवाइजहाज आएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।

यता यसवर्ष मंसिर महिनाको दोस्रो हप्तामा नै पहिलो हिमपात भएपछि मुस्ताङका स्याउ उत्पादक कृषकहरु भने खुसी भएका छन् । हिमपातले स्याउको फूल खेल्न र दाना लाग्न सहयोग पुग्नुका साथै स्याउ उत्पादनमा समेत वृद्धि हुने भएकाले स्थानीय कृषकहरु खुसीले रमाएका छन् ।  यसैबीच मुस्ताङमा चिसो बढ्दै गएपछि उपल्लो मुस्ताङका झण्डै ७० प्रतिशत र तल्लो मुस्ताङका ५० प्रतिशत स्थानीयवासी जाडो छल्न बेसीतर्फ झरेका छन् । अहिले मुस्ताङमा होटल व्यवसायी, भेडा गोठाला, घरकुरुवा र बुढाबुढी मात्रै छन् । मुस्ताङीहरु हरेक वर्ष चिसो बढेपछि मंसिरमा बेसी झर्ने र फागुनमा गर्मी बढ्दै जान थालेपछि मुस्ताङ फर्किने गर्दछन् । उपल्लो मुस्ताङमा गएको असोज अन्तिम हप्तादेखि चिसो बढ्न थालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू