अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०३ | Colorodo: 19:18

९ प्रतिशतले घट्याे पेट्राेलियम पदार्थकाे आयात

बिआरटीनेपाल २०८० मंसिर १६ गते ५:३१ मा प्रकाशित

चालु आर्थिक वर्षको चार महिनामा पेट्रोलियम पदार्थको आयात नौ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि कात्तिकसम्म ८८ अर्ब ९८ करोड ४४ लाख २२ हजार रुपियाँको आठ लाख किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, ग्यास र हवाई इन्धन) आयात भएको हो ।गत वर्ष सो अवधिमा ९८ अर्ब २७ करोड ९९ लाख ६६ हजार रुपियाँको इन्धन आयात भएको थियो । गत वर्षको तुलनामा चालु आवको चार महिनामा १० अर्ब रुपियाँको इन्धन कमी आएको छ । बजारमा इन्धनको खपत कम हुँदा आयातमा कमी आएको तथ्याङ्कले देखाएको छ ।

नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले पछिल्लो समय मुलुकमा देखा परेको आर्थिक सङ्कटका कारण विकास निर्माणको काम कम हुँदा इन्धनको खपतमा कमी आएको जानकारी दिनुभयो । औद्योगिक प्रयोजनमा २५ देखि ३० डिजेल खपत हुने गरेको निगमको भनाइ छ ।पछिल्लो समय आर्थिक सङ्कटका कारण उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन । व्यवसायीका अनुसार आर्थिक मन्दीका कारण ३० देखि ४० प्रतिशत उद्योग मात्र पूर्ण क्षमतामा सञ्चालन भएका छन् ।

खाना पकाउने एलपी ग्यासको समेत खपत घटेको छ। विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपत कमी भएको निगमको भनाइ छ । विभागका अनुसार चार महिनामा २२ अर्ब ८७ करोड २७ लाख ६१ हजार रुपियाँ बराबरको दुई लाख २३ हजार ८१० किलोलिटर पेट्रोल आयात भएको छ । ४० अर्ब ३१ करोड २४ लाख ४४ हजार रुपियाँ बराबरको तीन लाख ५९ हजार ६६ सय किलोलिटर डिजेल आयात भएको छ । तीन लाख ४४ हजार ७३४ रुपियाँ बराबरको तीन हजार १७२ किलोलिटर मटितेल आयात भएको छ ।

यस्तै ६८ अर्ब ८४ करोड तीन लाख ४२ हजार रुपियाँको  ६१ हजार ६६४ किलोलिटर हवाई इन्धन आयात भएको छ । यस्तै चार महिनामा १५ अर्ब ४५ करोड ८५ लाख ९३ हजार रुपियाँको एक लाख ६७ हजार ९९४ मेट्रिक टन ग्यास आयात भएको छ । विकास निर्माणको काम तीव्र गतिमा नहुँदा इन्धनको खपतमा गिरावट आएको तथ्याङ्कले देखाएको  छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू