अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

युनेस्काेकाे ‘रचनात्मक शहर’ काे सूचीमा काठमाण्डाै पनि

बिआरटीनेपाल २०८० कार्तिक १५ गते ६:५५ मा प्रकाशित

राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाण्डाैलाई ‘फिल्मको रचनात्मक शहर’ को रूपमा सूचीकृत गरेको छ । आज बुधवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै काठमाण्डाै महानगरले यसबारेमा जानकारी गराएको हो । महानगरले अब चलचित्र क्षेत्रको विकास र विस्तारका लागि काठमाण्डाै क्रिएट द काउन्सिल (केसीएसी) स्थापना गर्ने पनि पत्रकार सम्मेलनमार्फत जनाएको छ । चलचित्र क्षेत्रको विकास र विस्तार तथा चलचित्रसँग सम्बन्धित उद्योग सञ्चालन, संरक्षण र प्रवर्द्धनका लागि आवश्यक पर्ने नीति अनुसन्धान र विकासमा जोड दिने बताइएको छ । यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रम, गतिविधि कार्यान्वयन गर्ने महानगरको विश्वास छ ।

विश्व शहर दिवसको अवसरमा काठमाण्डाैसहितका संसारका ५५ वटा शहरलाई ‘क्रिएटिभ सिटिज नेटवर्क’ मा समावेश गरिएको युनेस्कोले जनाएको छ । युनेस्कोले सात वटा रचनात्मक क्षेत्रअन्तर्गत रहेर ५५ वटा नयाँ शहर सूचीकृत गरेको हो । यी रचनात्मक क्षेत्रमा शिल्प र लोककला, डिजाइन, फिल्म, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया कला र सङ्गीत समावेश छन् ।

चलचित्र उद्योगमा आबद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबीच समन्वय/सहकार्य गरेर स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरूलाई प्रोत्साहन गर्ने महानगरकाे नीति रहेको छ । चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा वकालत गर्ने, शहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि बर्सेनि अनुसन्धान फेलोशिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहमति प्रदान गरिने महानगरले बताएको छ । चलचित्र र अन्य रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार स्तरोन्नति गरिने जनाइएको छ ।

महानगरले अन्तर्राष्ट्रियस्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तर्राष्ट्रिय चित्र महोत्सव, फिल्म एक्स्पो फिल्म समिट जस्ता कार्यक्रम सञ्चालन गर्ने भएको छ । युनेस्को क्रियटिभ सिटिज नेटवर्क (यूसीसीएन) कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू