अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०१ | Colorodo: 16:16

प्रधानमन्त्रीलाई विश्वविद्यालयमा कुलपति बनाउनु हुन्न : त्रिवि उपकुलपति बाँस्कोटा

बिआरटीनेपाल २०८० कार्तिक १५ गते ६:२३ मा प्रकाशित

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन नहुने बताउनुभएको छ । बुधवार आफ्नो ४ वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै उहाँले विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्रीलाई कुलपति बनाउने प्रावधान हटाउनुपर्ने बताउनुभयो ।बाँस्कोटाले शैक्षिक व्यक्तित्वलाई खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयको कुलपति नियुक्त गर्नुपर्ने प्रस्ताव समेत गर्नुभएको छ । उपकुलपति बाँस्कोटाले राजनीतिक पार्टीपिच्छे स्थापना भएको शिक्षक, कर्मचारीहरूको संघ, सङ्गठनलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्ने प्रथाको सदाका लागि अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्री नै कुलपति हुने व्यवस्था हटाई विश्वविद्यालयमा स्थापित भइसकेको ट्रस्टको प्रावधानको व्यवस्था गरी विशेषज्ञता हासिल गरिसकेको शैक्षिक व्यक्तित्वलाई खुल्ला प्रतिस्पर्धाबाट कुलपति नियुक्त गर्ने प्रावधानको विकास गरिनुपर्दछ ।’

उपकुलपति बाँस्कोटाले उच्च शिक्षाका लागि बजेटमा उल्लेख्य वृद्धि गरी २० देखि २५ प्रतिशतसम्म पुर्‍याउनुपर्ने बताउनुभयो । हाल उच्च शिक्षाका लागि सरकारले १० प्रतिशतको हाराहारीमा बजेट विनियोजन गरेको छ । त्यसमा उल्लेख्य वृद्धि गरी विश्वविद्यालयलाई अनुसन्धानमुखी विश्वविद्यालयमा रूपान्तरण गर्न आवश्यक रहेको समेत उपकुलपति बाँस्कोटाको भनाई थियो ।

‘उच्च शिक्षामा राज्यले विनियोजन गर्दै आएको १० प्रतिशतको हाराहारीको बजेटलाई उल्लेख्य वृद्धि गरी सार्क मुलुकहरू सरह कम्तीमा २० देखि २५ प्रतिशतको हाराहारीमा पुर्‍याउनुपर्छ’ बाँस्कोटाले भन्नुभयो, ‘त्यसैगरी अनुसन्धान तथा विकास बजेटमा पनि सोही अनुपातमा वृद्धि गरी विश्वविद्यालयलाई अनुसन्धानमुखी विश्वविद्यालयमा रूपान्तरण गरिनुपर्छ ।’ उपकुलपति बाँस्कोटाले विश्वविद्यालयलाई कुनै पनि राजनीतिक संगठनको आवरणमा बन्द गर्ने काम सदाको लागि अन्त्य गर्नुपर्ने, जनसङ्ख्याको आधारमा विश्वविद्यालयको सङ्ख्या निर्धारण गर्न ढिलाइ गर्न नहुने, भएका विश्वविद्यालय आर्थिक सङ्कटमा गुज्रिरहेकाले थप विश्वविद्यालय खोल्दै जाने काम गर्न नहुने समेत बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू