अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४४ | Colorodo: 10:59

बेलायत जान ७७१ नर्सको आवेदन, ७६ जनाको मात्रै स्वीकृत

बिआरटीनेपाल २०८० कार्तिक १३ गते ६:५५ मा प्रकाशित

रोजगारीका लागि बेलायत जान ७७१ जना नर्सले आवेदन दिएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जुलाइ २१ देखि अक्टोबर २० सम्म आवेदन खुला गरेको थियो । सो अवधिमा सो संख्यामा आवेदन परेको हो ।आवेदकमध्येबाट मापदण्ड पुगेका नर्सलाई सन् २०२४ को अप्रिल पहिलो साता बेलायत पठाउने मन्त्रालयको तयारी छ ।

मन्त्रालयले पाइलट प्रोजेक्टको रूपमा पहिलो चरणमा १०० जना नर्स बेलायत पठाउने लक्ष्य राखेको थियो । तर, आवेदन परेकामध्ये हालसम्म ७६ जनाको मात्रै स्वीकृत भएको छ । केही आवेदकको कागजपत्र नपुगेकाले पूरा गर्न नोभेम्बर १ सम्म म्याद दिइएको छ । यो अवधिमा कागजात पूरा भए केही संख्या थप हुनसक्ने मन्त्रालयका उपसचिव डम्बरबहादुर सुनुवारले बताउनुभयो । आवेदन स्वीकृत नहुनुमा अधिकांशको अंग्रेजी भाषा नै बाधक बनेको उहाँको भनाइ छ । अधिकांशको अंग्रेजी भाषामा तोकिएको मापदण्ड नपुगेको देखिएको छ ।

बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस सेन्टरले त्यहाँ लैजाने नर्सका लागि आईएलटीएस(इन्टरनेसनल इंगिस ल्याङग्वेज टेष्टिङ सिष्टम)वा ओईटी (अकुपेशनल इंगिस टेष्ट) कोर्ष अनिवार्य गरेको छ । आईएलटीएसको पढाइ, सुनाइ र बोलाइ (रिडिङ, लिस्निङ र स्पिकिङ)को अंक सात र लेखाइ (राइटिङ) मा ६.५ ल्याएको हुनुपर्ने मापदण्ड छ । ओईटीको हकमा पढाइ, सुनाइ र बोलाइमा कम्तीमा बी ग्रेड त्याएको हुनुपर्नेछ ।

हाल स्वीकृत भएकामध्ये ६६ जना आईटी र १० जना आईएलटीएसको अंक पूरा गरेका आवेदक छन् । त्यस्तै, नेपाली पासपोर्टको म्याद आवेदन दिएको दिनदेखि कम्तीमा एक वर्ष रहेको, नेपाल सरकार वा विदेशको मान्यता प्राप्त शिक्षण संस्थाबाट अध्ययन गरी स्टाफ नर्स, बीएस्सी नर्सिङ वा बीएन गरेको हुनुपर्ने छ । आवेदन दिने नर्स नेपाल नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त हुनपर्ने, पछिल्लो दुई वर्षभित्र मान्यताप्राप्त अस्पतालमा दुई वर्ष काम गरेको हुनुपर्ने मापदण्ड छ । मन्त्रालयका उपसचिव सुनुवारका अनुसार आवेदन स्वीकृत भएका नर्सहरूको सूची बेलायतको डिपार्टमेन्ट अफ हेल्थ सर्भिस सेन्टर र मन्त्रालयको तहबाट हुनेछ । छनोटमा परेका नर्सको अन्तर्वार्ता र स्वास्थ्य परीक्षण पनि गरिनेछ ।

छनोट भएकाहरूको भिसा प्रक्रिया मन्त्रालयबाट नै हुनेछ । यी सबै प्रक्रिया टुंग्याएर सन् २०२४ अप्रिलको पहिलो साता बेलायत पठाउने मन्त्रायलको तयारी छ । नेपालबाट गएका नर्सले बेलायत सरकारको मातहतमा पहिलो तीन महिना ‘असिस्टेन्ट हेल्थ केयरगिभर’ (ब्याण्ड ४)को रूपमा काम गर्नुपर्नेछ । सातामा ३७ घण्टा काम गरेबापत पहिलो तीन महिना उनीहरूले प्रतिमहिना दुई हजार २९९ पाउण्ड स्टर्लिङ डलर पारिश्रमिक पाउनेछन् ।

तीन महिनापछि भने बेलायतको नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल (एनएचएस) दर्ता हुन परीक्षा दिनुपर्नेछ । सो परीक्षामा उत्तीर्ण भएपश्चात ब्याण्ड ५ को रूपमा प्रतिमहिना दुई हजार ३६७ पाउण्ड स्टर्लिङ डलर पारिश्रमिक पाउने सुनुवार बताउँनुुहुन्छ । पाइलट प्रोजेक्टको विश्लेषणका आधारमा अर्को चरणमा कति, कहिले र कसरी स्वास्थ्यकर्मी पठाउने भन्ने निर्धारण हुने मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू