अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

‘महासचिव गुटेरेसको स्वागतको पर्खाइमा पोखरा’

बिआरटीनेपाल २०८० कार्तिक १२ गते ८:०३ मा प्रकाशित

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस सोमवार पर्यटकीय नगरी पोखरा आउनुहुने भएको छ । नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा आइतवार काठमाण्डौ आउनुभएका महासचिव गुटेरेसको भ्रमण कार्यतालिकामा पोखरा समावेश गरिएको छ । भ्रमणका क्रममा सोमवार दिउँसो पोखरा आउने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।महासचिव गुटेरेस मङ्गलवार बिहान अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ । महासचिवको आगमनलाई लक्षित गरी सम्पूर्ण सुरक्षा व्यवस्था मजबुत पारिएको उहाँले जानकारी दिनुभयो ।

सन् २०१७ मा संयुक्त राष्ट्र सङ्घको महासचिव भएपछि पहिलो पटक नेपालको भ्रमण गर्न लागेका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तनलगायत विषयमा छलफल गर्ने जनाइएको छ । राष्ट्र सङ्घका महासचिवको झन्डै १५ वर्षपछि नेपालमा हुन लागेको यस भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ । महासचिव गुटेरेसको भ्रमणमा पर्यटकीय नगरी पोखरा समेटिनुले पोखराको गरिमा र महत्त्व अझै बढ्ने विश्वास लिइएको छ ।

अतिविशिष्ट व्यक्तिको पोखरामा हुन लागेको भ्रमण आफूहरूका लागि ठूलो गौरवको विषय भएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताउनुभयो । ‘महासचिव गुटेरेस पोखरा आउने कुरा हाम्रा लागि अत्यन्त खुशीको कुरा हो’, उहाँले भन्नुभयो, ‘पोखराबाट अन्नपूर्ण आधार शिविरमा पुगी उहाँले जलवायु परिवर्तन, यसले पारेको प्रभाव, हिमालको अवस्था आदिको स्थलगत अवलोकनसँगै स्थानीयसँग गर्ने भनिएको छलफल एवम् अन्तरक्रियाले ठूलो महत्त्व राख्दछ ।’ आफूहरू महासचिव गुटेरेसको स्वागतको पर्खाइमा रहेको उहाँले बताउनुभयो ।

महासचिव गुटेरेस अन्नपूर्ण आधार शिविर जाने कुराले त्यहाँका पर्यटन व्यवसायी पनि हर्षित छन् । आरोहणका दृष्टिले विश्वकै जेठो हिमालका रूपमा चर्चा कमाएको अन्नपूर्ण हिमालको आधार शिविरमा संयुक्त राष्ट्र सङ्घका महासचिव स्वयम् आउन लागेको विषयले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेको छोम्रोङ पर्यटन समितिका सचिव दिलीप गुरुङले बताउनुभयो । महासचिवको आगमनले अन्नपूर्ण हिमाल, आधार शिविरसँगै समग्र यस क्षेत्रको विश्वव्यापी प्रवर्धन हुने विश्वास लिइएको उहाँले बताउनुभयो ।

अतिविशिष्ट व्यक्तिको भ्रमणस्थलका रूपमा स्थापित हुँदै पोखरा

प्रकृतिको वरदान पाएको पोखरा अतिविशिष्ट व्यक्तिको भ्रमणस्थल बन्दै गएको छ । फ्रान्सका हिमाल आरोही मौरिस हर्जोगले सन् १९५० जुन ३ मा सर्वप्रथम अन्नपूर्ण प्रथमको सफल आरोहण गरेसँगै अन्नपूर्ण हिमाल र यससँग प्रत्यक्ष जोडिएका पोखरालगायतका गन्तव्यले पर्यटकीय रूपमा महत्त्व पाएका हुन् । अन्नपूर्ण हिमालको आरोहण भएको डेढ दशकपछि सन् १९६६ मा विश्वप्रख्यात पदयात्री एरिक सिप्टनले गरेको अन्नपूर्ण आधार शिविरको पदयात्रापछि पोखरालाई आधार बनाएर अन्नपूर्ण, धवलागिरिजस्ता हिमालका फेरीमा पदयात्रातर्फ पनि आकर्षण बढेको हो ।

सन् १९६० देखि हिप्पी पर्यटकको आगमनले पोखराको पर्यटकीय गतिविधि बढेको पाइन्छ । सन् १९८० को दशकदेखि फस्टाउँदै गएको यहाँको पर्यटनलाई समय समयमा हुने गरेका अतिविशिष्ट व्यक्तिको आगमनले यहाँको गरिमा र महिमा अझै चुलिएको हो ।इतिहास खोतल्दा यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजावेथ द्वितीया र सन् १९६३ मा भारतीय राष्ट्रपति राधाकृष्णले पनि पोखराको भ्रमण गर्नुभएको थियो । त्यसयता पोखरामा २०७२ चैतमा सम्पन्न सार्क मन्त्रिपरिषद् बैठक (मिनी सार्क सम्मेलन), त्यसलगत्तै भएको बेलायती राजकुमार ह्यारीको भ्रमणदेखि २०७३ कात्तिकमा भएको भारतीय राष्ट्रपति मुखर्जीसम्मका औपचारिक भ्रमणले यहाँको महत्त्वलाई अझै बढाएको थियो । पोखरामा २०७६ कात्तिकमा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद फेवातालमा डुङ्गा शयरदेखि हिमाल अवलोकन आदि गतिविधिमा सरिक बन्नुभएको थियो ।

पोखरा आउनुभएका अतिविशिष्ट व्यक्तिले सुन्दर सहर, प्रकृतिको वरदान आदि उपमा दिनुले पनि यहाँको प्रवर्धन भइरहेको छ । महासचिव गुटेरेसको भ्रमणलाई पोखरेलीले यहाँको विश्वव्यापी पर्यटन प्रवर्धनका लागि महत्त्वपूर्ण अवसरका रूपमा लिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ । ‘महासचिवको भ्रमण तालिकामा पोखरा समावेश हुनु नै हाम्रा लागि ठूलो खुशीको विषय हो’, श्रेष्ठले भन्नुभयो, ‘सुन्दर नगरीमा हुन लागेको उहाँको भ्रमण पोखराको विश्वव्यापी पर्यटन प्रवर्धनका लागि कोशेढुङ्गा सावित हुने विश्वास लिएका छौँ, पोखरा महासचिव गुटेरेसको स्वागतको पर्खाइमा छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू