अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४७ | Colorodo: 13:02

सभापति देउवा र महासचिव गुटेरेसबीच भेटवार्ता

बिआरटीनेपाल २०८० कार्तिक १२ गते ६:५३ मा प्रकाशित

नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस र नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज आइतवार दिउँसाे उहाँहरूबीच शिष्टाचार भेट भएको हो । भेटमा उहाँहरूबीच नेपालको शान्ति प्रक्रिया, जलवायु परिवर्तनलगायत विषयमा छलफल भएको भेटमा सहभागी उपसभापति एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिनुभयो ।महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्र सङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक  हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी हुनुहुन्छ ।

महासचिव गुटेरेस नेपालको चार दिने भ्रमणका क्रममा आज काठमाण्डाै आइपुग्नुभएको हो । उहाँले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो । साथै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँगसमेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो । भेटवार्तापछि उहाँले ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्वको सम्पदा स्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नुहुनेछ । प्रधानमन्त्री प्रचण्डले महासचिव गुटेरेसको सम्मानमा आज साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गर्नुहुनेछ । भ्रमणका क्रममा गुटेरेस सोमवार नाम्चे, पोखरा, अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानुहुनेछ । यही कात्तिक १४ गते मङ्गलवार दिउँसाे ४ बजे उहाँले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू