अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१७ | Colorodo: 10:32

एनआरएन विवाद: मतदानको त्रुटि छानबिन गर्न बद्री तयार, निर्वाचन गर्नुपर्ने आरकेको अडान

बिआरटीनेपाल २०८० कार्तिक १० गते ६:२२ मा प्रकाशित

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवादबीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ। एनआरएनएको निर्वाचनमा धाँधली भएको भन्दै दुई उम्मेदवारबीच विवाद सुरू भएको थियो। त्यसैबीच अध्यक्ष आरके शर्मा र अर्का अध्यक्ष बद्री केसीबीच ठमेलस्थित हिमालयन जाभामा भेट भएको हो।

उहाँहरूबीच करिब तीस मिनेट भेटवार्ता भएको हो। भेटको क्रममा आरके शर्माले पुनस् निर्वाचनको प्रस्ताव अघि सार्नुभएको छ । दुवै पक्षले निर्वाचन त्रुटिपूर्ण रहेको भन्ने स्वीकार गरेकाले पुनस् निर्वाचन हुनुपर्ने प्रस्ताव अघि सारेको शर्माले बताउनुभयो ।’निर्वाचन त्रुटिपूर्ण छ भनेर उहाँले पनि स्वीकार गर्नुभएको छ। उहाँले विज्ञप्ति नै निकालेर प्रक्रिया स्थगित गर्नुभएको हो,’ शर्माले भन्नुभयो, ‘पुन: निर्वाचन गरेमा हामी सहमतिमा आउन सक्छौं। मैले त्यही कुरा राखेँ। उहाँले प्रक्रिया नै नपुर्‍याइ आफैंलाई अध्यक्ष घोषणा गरेर शपथ खानुभएको छ’।

यस्तै उहाँले आफूहरूको कमिटी नै वैधानिक भएको पनि दाबी गर्नुभएको छ । एनआरएनबारे नकारात्मक छाप परेकाले पुन: निर्वाचनको प्रस्ताव अघि सारेको पनि उहाँले बताउनुभयो। ‘हाम्रो कमिटी वैधानिक छ। अध्यक्षद्वय कुल आचार्य, रवीना थापाले उहाँ (बद्री केसी) ले स्थगित गरेको बन्दसत्र पुन: सुरू गरेर हामीलाई निर्वाचित गरेको हो’, उहाँले भन्नुभयो, ‘तर एनआरएनएको बाहिर नकारात्मक छाप गएकाले सहजीकरणका लागि पुन: निर्वाचनमा सहमति गरौं भन्ने मेरो कुरा हो। उहाँ सहमत भए म टिममा कुरा गर्छु’।

यद्यपि सम्पन्न भेटमा बद्री केसी मिल्ने पक्षमा नदेखिएको पनि शर्माले बताउनुभयो ।’उहाँ त पेलेरै जाने रणनीतिमा हुनुहुन्छ। भेटमा मिल्ने संकेत देखाउनुभएन’, उहाँले भन्नुभयो । बद्री केसीले भने निर्वाचनमा भएको भनिएको धाँधलीको विषयमा छानबिनका लागि आफू मातहतको समिति बनाउने प्रस्ताव राख्नुभएको छ ।’हामीले महेश श्रेष्ठ, आरके शर्मालाई पत्र नै लेखेर आइटी विज्ञ पठाइदिनुस् भनेका छौं। महेश श्रेष्ठ अन्तर्राष्ट्रिय अडिट कम्पनीद्वारा निर्वाचन परिणाम छानबिन गरौं भन्दा तयार हुनुहुन्छ’, केसीले भन्नुभयो, ‘आरके शर्मा पुन: निर्वाचनको पक्षमा हुनुहुन्छ। बल उहाँहरूको कोर्टमा छ’।

उहाँले मतदानको निष्पक्षताबारे १५ दिनभित्र निरूपण गर्ने र मतदानमा त्रुटि देखिए पद छाड्न तयार रहेको पनि बताउनुभयो ।’हामी १५ दिनभित्र मतदानको निष्पक्षताबारे उठेका प्रश्नको निरूपण हुने गरी छानबिन गर्छौं। मतदानमा त्रुटि देखिए पद त्याग गर्न तयार छौं’, उहाँले भन्नुभयो, ‘उहाँहरू भोटिङ कम्पनी छान्न, निर्वाचन प्रक्रिया सुरू गर्न, मतदानमा प्रतिनिधि राख्न, गणनामा प्रतिनिधि खटाउन तयार हुने, खटाउने, सबै प्रक्रियामा भाग लिएपछि परिणाम स्वीकार गर्दिनँ भन्न कसरी मिल्छ? मैले हिजो यही कुरा राखेँ’। शर्माले भने पुनस् निर्वाचनबाहेक अन्य विकल्प हुन नसक्ने र केसीले विज्ञप्ति नै निकालेर निर्वाचनको घोषणा गरे छलफल गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू