अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 08:01

धौलागिरि अस्पतालमा जन्मियो ४ किलाे ७ सय ५० ग्राम तौल भएको बच्चा

बिआरटीनेपाल २०८० कार्तिक १० गते ६:०७ मा प्रकाशित

धौलागिरि अस्पतालमा अहिलेसम्मकै बढी तौल भएको बच्चाको जन्म भएको छ । दशैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि स्वास्थ्यकर्मीको सक्रियतामा बाग्लुङकाे जैमिनी नगरपालिका–३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिनुभएको हो । बच्चाको तौल चार किलाे सात सय ५० ग्राम रहेको अस्पतालले जनाएको छ ।अस्पतालको प्रसूति वार्डमा तामाङले बिहीवार सामान्यरूपमा छोरा जन्माउनुभएको अस्पतालका नर्सिङ इन्चार्ज देवी भट्टराईले बताउनुभयो । यो छन्त्यालको चौथो सन्तान हो ।

पेटमा रहेको बच्चा ठूलो देखिएकाले अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो तर विगतका सन्तान पनि सामान्यरूपमै जन्मिएकाले आफूलाई यसपटक पनि सामान्यरूपमै बच्चा जन्मिन्छ भन्ने लागेर यहीँ भर्ना भएको सुत्केरी छन्त्याल तामाङले बताउनुभयो । दशैँका बेलामा पोखरा जान पनि गाह्रो भएकाले नजिकको अस्पतालमै बच्चा जन्माउने विचार गरेर यहाँ सम्बन्धित चिकित्सक नहुँदा पनि अस्पतालमा भएको जनशक्तिको सहयोगमा राम्रौसँग बच्चा जन्मिएको उहाँको पति नेत्रबहादुर छन्त्यालले बताउनुभयो । अहिले बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ ।

धाैलागिरि अस्पतालमा प्रसूतिका लागि एक दिनमा १०/१२ जना महिला आउने गर्छन् । यसभन्दा अघि अस्पतालमा बढीमा चार किलो पाँच सय ग्रामसम्मको बच्चाको जन्मिएकाेमा अहिले चार किलो सात सय ५० ग्रामको बच्चाको जन्मिएकाे हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू