अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१३ | Colorodo: 09:28

राष्ट्रसङ्घका महासचिव गुटेरेसको भ्रमणको तयारीसँगै टीआरसी विधेयकको चर्चा

बिआरटीनेपाल २०८० कार्तिक ९ गते २१:२३ मा प्रकाशित

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको पर्सि आइतवार १२ गतेदेखि हुने नेपाल भ्रमणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ । भ्रमणका लागि नेपाली सेनाले सुरक्षा नेतृत्व गर्ने भएको छ । यसका लागि सरकारले रक्षा र गृह मन्त्रालयलाई समन्वय गर्ने जिम्मेवारी दिएको छ ।महासचिव गुटेरेस नेपालको चार दिने भ्रमणका लागि पर्सि नेपाल आउन लाग्नुभएको हो । गुटेरेसले आउँदो १४ गते सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ । यसअघि महासचिव गुटेरेसले असोज अन्तिम हप्ता नेपाल भ्रमण गर्ने कार्यक्रम भएकोमा हमासले इजरायलमा आक्रमण गरेपछि भ्रमण स्थगित गरिएको थियो । यसअघि सन् २००८ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव वान की मुनले नेपाल भ्रमण गर्नुभएको थियो । सन् १९७० र ८० को दशकमा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिवहरू डा. कुर्त वाल्डहाइम र ह्याभियर पेरेज द कोयारले नेपाल भ्रमण गरेका थिए । महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निम्तो दिनुभएको थियो ।

महासचिव गुटेरेसको नेपाल भ्रमणको मुख्य एजेन्डामध्येको एक सङ्क्रमणकालीन न्याय हो । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा भएको मानव अधिकार उल्लङ्घनका घटनामा संलग्नहरूमाथि सत्य/तथ्य छानबिन गरी कारबाहीका लागि आयोग बनाउने विस्तृत शान्ति सम्झौतामा उल्लेख छ । यो सम्झौताअनुसार आयोग गठन भए पनि ऐन पर्याप्त नभएको भन्दै सर्वोच्च अदालतले २०७० सालका केही बुँदा बदर गर्ने फैसला सुनाएको थियो । यो फैसला सुनाएको १० वर्ष हुँदा पनि ऐन संशोधन हुन सकेको छैन । सरकारले ऐन संशोधनका लागि सङ्क्रमणकालीन न्याय (टीआरसी) विधेयक मस्यौदा गरेर संसद्‍मा प्रक्रिया अघि बढाएको छ । सरकारले दर्ता गराएको विधेयक संघीय संसद्‍काे प्रतिनिधिसभा अन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिको उपसमितिमा पठाएको थियो । उपसमितिले केही बुँदाहरूमा सहमति जुटाउन बाँकी राखेर मूल समितिमा फर्काएको छ ।

नेपाल भ्रमणका क्रममा राष्ट्रसङ्घका महासचिवले सङ्क्रमणकालीन न्यायको विषयलाई प्राथमिकता दिने भएपछि सरकारले त्यसअघि विधेयकको बारेमा टुङ्गो लगाउने तयारी गरेको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिँदा प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम छिट्टै सकिने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू