अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५२ | Colorodo: 08:07

इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका थप एक नेपाली विद्यार्थीको शव ल्याइयो

बिआरटीनेपाल २०८० कार्तिक ९ गते ५:३४ मा प्रकाशित

इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये थप एक जनाको शव आज स्वदेश ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङको जयपृथ्वी नगरपालिका–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभयो । उहाँका अनुसार फ्लाइ दुबईको विमानमार्फत् बिहान ७ बजे गणेशको शव ल्याइएको हो ।

१० जना विद्यार्थीमध्ये अहिलेसम्म पाँच जनाको शव नेपाल ल्याइएको र बाँकी पाँच जनाको शव ल्याउन नातेदारको डीएनए सङ्कलन गरी पठाइएको छ । ती शव पनि चाँडै नेपाल ल्याइने गरी प्रकृया अगाडि बढेको सहसचिव आरणले जानकारी दिनुभयो ।यसअघि दार्चुला मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, दार्चुलाकै लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलालीकै बौनियाँ–३ का आशिष चौधरीको शव नेपाल आइसकेको छ । गएको असोज २० गते हमास लडाकु समूहको आक्रमणमा परि इजरायलमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । आक्रमणमा परि ज्यान गुमाउनेहरुमध्येमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन् । कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी अहिले पनि सम्पर्कविहीन हुनुहुन्छ । साथै इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई सरकारले उद्धार गरी स्वदेश ल्याएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू