अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८ | Colorodo: 18:23

मानव अधिकार अयोगद्वारा देशभरका बालसुधार गृहको अनुगमन शुरु

बिआरटीनेपाल २०८० असोज ९ गते ७:१९ मा प्रकाशित

बालसुधार गृहहरूमा समस्या देखिएपछि राष्ट्रिय मानव अधिकार आयोगले देशभरका बालसुधार गृहको अनुगमन सुरु गरेको छ । आयोगले मोरङ्ग, पर्सा, मकवानपुर, भक्तपुर, कास्की, रुपन्देही, बाँके र डोटी जिल्लाका आठवटै बालसुधार गृहहरूको अवस्था अनुगमन गरी यथाशीघ्र प्रतिवेदन पेश गर्नका लागि आयोगका सबै प्रदेश तथा प्रदेश शाखा कार्यालयहरूलाई पत्राचार गरेको हो ।

हालै भक्तपुर, बाँके, पर्सा लगायतका जिल्लास्थित बालसुधार गृहहरूमा विभिन्न विषयलाई लिएर भएका तोडफोड, झडप र उक्त घटनाबाट बालसुधार गृहमा राखिएका बालकहरूको मृत्यु भएको एवम् केही बालक घाइते भएको घटनाप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भक्तपुरको मध्यपुरस्थित बाल सुधारमा भएको घटनाका सम्बन्धमा स्थलगत अनुसन्धान गर्न केन्द्रीय कार्यालयको टोली आजै खटिइसकेको छ । त्यस्तै, लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्जको टोलीले बाँकेको डुडुवा गाउँपालिकास्थित बालसुधार गृहमा भएको घटनाको निरन्तर अनुगमन गरिरहेको छ ।

भक्तपुरको मध्यपुरस्थित बालसुधार गृहभित्र सामान्य बिरामी परेका कमल बस्नेतको उपचार अभावमा मृत्यु भएको र उक्त विषयलाई लिएर बालसुधार गृहका बालकहरूको समूहले ढुङ्गामुढा तथा तोडफोड गरी सुधार गृहबाट भागेका थिए । बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा केही दिन अघि दुई समूहबिच झडप हुँदा गम्भीर घाइते भएका रुपन्देहीका सुलभ केसीको उपचारका क्रममा मृत्यु भएको र अन्य १० जना घाइते भएको विभिन्न माध्यमबाट आयोगलाई जानकारी प्राप्त भएको छ । त्यसैगरी, पर्सा र कास्कीस्थित बालसुधार गृहहरूमा समेत समस्या देखिएका समाचारहरू सार्वजनिक भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू