अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

सरकारलाई बलियो बनाउन मन्त्री पद त्याग गरेँ : अमनलाल मोदी

बिआरटीनेपाल २०८० साउन २९ गते ५:१७ मा प्रकाशित

निवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताउनुभएको छ । राम्रो काम गर्दा गर्दै अप्ठेराेमा पर्नुभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेर साथ दिएको उहाँको भनाइ थियो । सोमवार मन्त्रालयमा आफ्नो बिदाइका लागि आयोजित कार्यक्रममा निवर्तमान मन्त्री मोदीले वर्तमान सरकारलाई बलियो बनाउन त्याग गर्नुपर्ने अवस्था आएपछि आफूले त्यसलाई सहज रूपले लिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डलाई देश र नागरिककाे पक्षमा राम्रो काम गर्न पनि सुझाव दिनुभयो । किसान, उत्पीडित थारुको छोरा आफूलाई मन्त्री बन्ने अवसर दिएको भन्दै मोदीले प्रधानमन्त्रीप्रति आभार पनि व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजीले केही राम्रो काम पनि गरिराख्नुभएको छ । राम्रो काम गर्दा कहिलेकाँही चौतर्फी घेरा आइराखेको छ । उहाँले अहिलेको परिस्थितिमा यो सरकारलाई बलियो बनाउन कसै न कसैले त्याग गर्नुपर्‍याे भन्दा मैले सहजै हुन्छ भनेँ ।’

निवर्तमान मन्त्री मोदीले आफूले सबै पक्षलाई साथमा लिएर सङ्घीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेको, कर्मचारी व्यवस्थापनका लागि मापदण्ड तयार पारेको र सुशासनको क्षेत्रको उल्लेखनीय काम गरेको भन्दै नवनियुक्तमन्त्री अनिता देवी साहले त्यसलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो । मोदीले झन्डै सात महिना मन्त्रीको रूपमा कार्यभार सम्हाल्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू