अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१८ | Colorodo: 12:33

अमेरिकाको हवाई टापुमा भएको आगलागीमा मृत्यु हुनेको संख्या ५३ पुग्यो

बिआरटीनेपाल २०८० साउन २६ गते ६:५६ मा प्रकाशित

अमेरिकाको हवाई टापुमा भएको भिषण आगलागीमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । स्थानीय अधिकारीहरुका अनुसार खोजी तथा उद्धार कार्य जारी रहेकोले मृतकको संख्या अझै बढ्नसक्छ । प्रशान्त महासागरको हवाई टापुको जङ्गलमा लागेको डढेलो तिब्र गतिको आँधीको कारण माउई टापुको लहाइना शहरमा फैलिंदा ठूलो हताहती भएको हो ।

गभर्नर जोस ग्रीनका अनुसार हवाई टापुमा आगलागिको कारण अहिलेसम्मकै ठूलो क्षती भएको छ । १७ सय भवनहरू ध्वस्त भएका छन् भने ऐतिहासिक शहर लहैनाको ८० प्रतिशत भाग जलेर नष्ट भएको छ । मंगलबारबाट सुरु भएको डढेलोलाई डोरा तुफानबाट उत्पन्न भएको तेज हावाले तिव्र गतिमा फैलाउँदा सर्वसाधारणहरुले भाग्ने मौका समेत पाएनन् । आगलागीपिडित हजारौ नागरिकलाई अस्थायी आश्रय शिविरमा सारिएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले हवाई टापुमा ठूलो प्रकोप घोषणा गर्दै पुर्नस्थापनाको लागि आवश्यक कोष जारी गर्नुभएको छ । क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले पुर्नस्थापना कार्यमा सघाउन विशेष क्षमतासहितको खोज र उद्धार टोली पठाउने घोषणा गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू