अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

शुभकामना तिमीले दिनु !

रमा दुलाल २०८० जेठ १ गते १६:३५ मा प्रकाशित

कविता

म कविता लेख्छु भनेर बस्दिन
म कविता कोर्छु भनेर घोत्लिइदिन
जब जब तिम्रो यादले सताउँछ
जब जब तिम्रो नयनले पिछा गर्छ
औँलाहरू त्यसै त्यसै सल्बलाउछन
पानाहरू तिम्रै नाममा भरिन्छन्
तर,
तिम्रो यादको कविता कोर्दा
जीवन जीवन भएर आउनु पर्ने होइन र ?
किन,
मृत्युको गहिरो आभास हुन्छ
बगेका यी आँसुहरुमा
बिम्ब तिम्रो देखिनु पर्ने होइन र ?
किन,
टल पल टल पल भई त्यसै झरी दिन्छ ?
तिमी भन्ने गर्छौ
सत्य त एउटै हुन्छ
भन्नु नै त हो
कति सजिलो छ
सुनिरहन्छु,
सुन्नु नै त हो,
विश्वास लाग्छ
तर, कसरी विश्वास गरु म ?
मन ,बचन र कर्महरू
अभिमन्युको चक्रब्युहबाट
किन बाहिर निस्कन सक्दैनन् त..?
किन, कौरवहरूको चक्रब्युहमा
उनलाई नै मर्नु पर्‍यो…?
अझ भनु, उनलाई नै मारिनु पर्‍यो
के गरे त कृष्णले पनि ?
उनी सबै भन्दा कान्छा भएर के भयो त ?
कृष्णकै भान्जा भएर पनि के भयो र ?
बलिदान कुरुक्षेत्रमा उनलाई नै दिनु थियो र …?
मारिनु मामाकै अगाडी उनलाई थियो र …?
मामा भईकन पनि पनि त केही गरेनन् कृष्णले
हैन र…?
अभिमन्यु पारिनु थियो चक्रव्यूहमा
विडम्बना!!
पारिए अनि मारिए
भो, मलाई अभिमन्यु बन्नु छैन
चक्रव्यूह तोड्न सकिँदैन,
यसैले,
तिम्रो सन्सार हेर्ने नजरियालाई
म सलाम गर्छु
त्यो नजरियामा
मेरो नजरले छुँदैन
तिम्रो आकाशमा
मेरो दृस्ट्री पुग्दैन
दोबाटो कै भेटघाट त हो नि
गन्तव्य एउटै नभन्नु तिमीले
गन्तव्य एउटै भएर पनि त के भयो र ?
बाटाहरू अनगिन्ती हुन्छन्
मोडहरू मोडिँदै जान्छन्
मोडिन पनि सिक्नुपर्छ
फर्कन पनि जान्नुपर्छ
यसैले,
चक्रब्युहको जालमा
अल्झिने छैनन् मेरा पाइलाहरू
तिमी तिमीले चाहेको मोडमा मोडिनु
म सहज र सरल गोरेटो पहिल्याउने छु
पुगिएछ भने गन्तव्य मै भेटौला
पुगिएनछ भने कुनै बिसौनी खोजौला
तर ,
यादहरूको सिरानी हुनेछैन अब
अर्श्रुको धारा बग्न दिन्न अब
जीवनलाई जीवित बनाइ बाचिदिनु पर्छ
मृत्यु सत्य हो,
स्विकार्नु पर्छ
यसैले त पर्खी रहेछु
कोरिएका तिम्रा यादका मेरा कविताहरू
मीठो मानी पढिदिनु
मोडिएका मेरा पाइलाहरूलाई
शुभकामना तिमीले दिनु!!! अस्तु:!!

———–
भक्तपुर, नेपाल