अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५० | Colorodo: 05:05

चार प्रतिशतको आर्थिक वृद्धिले देश समृद्ध बनाउने लक्ष्य पूरा हुँदैन : अर्थमन्त्री महत

बिआरटीनेपाल २०८० वैशाख ९ गते ८:०१ मा प्रकाशित

अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको ४ प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गरी समृद्ध देश बनाउने लक्ष्य पूरा नहुने बताउनुभएको छ । शनिवार काठमाण्डाैमा आयाेजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले यस्तो बताउनुभएको हो ।उहाँले सरकारको आर्थिक नीति र मौद्रिक नीतिको प्रमुख लक्ष्य आर्थिक वृद्धि  गर्ने भएको बताउनु भयो । उहाँले देशको आर्थिक वृद्धिदर बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले पछिल्लो समय सरकारले सबै आयोजना बनाउने भनेर स्रोत सुनिश्चिता बिना आयोजना घोषणा गर्ने गरेको पनि उल्लेख गर्नुभयाे । ५० करोड आवश्यक पर्ने आयोजनामा ५ लाख रुपैयाँ राखेर स्रोतको सुनिश्चितता भयो भनरे ठेक्का लगाएको आवस्था रहेको भन्दै अब सरकारले आगामी बजेटमा स्रोत सुनिश्चितता नभएका आयोजना नसमेट्ने उहाँकाे भनाइ थियाे ।

अर्थमन्त्री महतले करिव ४ खर्ब रुपैयाँ बराबरका स्रोत सुनिश्चितता नभएका आयोजनाहरु ठेक्का लागे पनि आयोजना बनाउने अहिलेसम्म स्रोत नभएको बताउनु भयो । उहाँले साना आयोजनामा समेत केन्द्र सरकारले हात हालेको भन्दै अब साना आयोजनाको काम पालिकालाई दिने बताउनु भयो । उहाँले आगामी बजेटमा स्रोत सुनिश्चिता भएका आयोजनाहरुलाई पहिलो प्राथमिकता हुने बताउनु भयो । उहाँले भन्नुभयो,‘ देशको ४ प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गरी समृद्ध देश बनाउने लक्ष्य पूरा हुँदैन । सरकारको आर्थिक मौद्रिक नीतिको लक्ष्य समान रुपमा आर्थिक वृद्धि बढाउने हो । हामीले माग आएजति योजना राख्ने, क्षमता नहेरी प्रतिवद्धता जनाउने र योजना अलपत्र पार्ने अवस्था अन्त्य गर्नु अनिवार्य भएको छ । यहाँ पनि दिन्छु, त्यहाँ पनि दिन्छु भनेर ५० करोडको आयोजनामा पाँच लाख राखेर स्रोतको सुनिश्चितता भयो भन्दिने कुराले हामी फसेका रहेछौँ । साना भन्दा साना आयोजनामा केन्द्रले हात हाल्ने कुरा गलत अभ्यास भयो । आयोजना राख्ने र काम गर्न नसक्ने कुराले हामीलाई थप अलोकप्रिय बनाउँछ । त्यसैले स्रोतले भ्याउने सुनिश्चितता गर्ने पद्धति बसाल्ने प्रयासमा छु । आगामी आर्थिक वर्षदेखि त्यो अभ्यास हुनेछ ।’

अर्थमन्त्री महतले बैंकको ब्याजदर कम भएको अवस्थामा ऋण लिएका ऋणीहरुले बैंकको उच्च ब्याजदर भएको बेला कर्जाको किस्ता तिर्न नसक्दा अर्थतन्त्र चलायमान बनाउन समस्या फैदा भएको बताउनु भयो । उहाँले बैंकको उच्च ब्याजदर कम गर्ने विषयमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच निरन्तर छलफल भइरहेको बताउनु भयो । उहाँले बैंकको ब्याजदर कम गर्ने विषयमा सरकार राष्ट्र बैंक सकारात्मक रहेको बताउनु भयो । उहाँले मौद्रिक नीति र नितिगत कार्यक्रममार्फत अर्थतन्त्रलाई चलायमान बनाउने बताउनु भयो । उहाँले निजी क्षेत्रको आत्मविश्वास फर्काउन पनि आफूले काम गर्ने बताउनु भयो ।

अर्थमन्त्री महतले आर्थिक प्रभावकारिता बढाउन सरकारको विकास खर्च गर्नसक्ने क्षमता बढाउने काम गर्ने पनि बताउनु भयो । उहाँले सरकाले प्रभावकारिता मूल्यांकन गरेर खर्च गर्नुको विकल्प नभएको बताउनु भयो । उहाँले अर्थतन्त्र चालयमान बनाउनको लागि नीतिगत हस्तक्षेपको योजना बनाएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू