अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०९ | Colorodo: 03:24

ठमेलबाट २ कराेड ३३ लाख रुपैयाँ बराबरकाे काेकिनसहित २ विदेशी पक्राउ

बिआरटीनेपाल २०८० वैशाख ७ गते ६:४७ मा प्रकाशित

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले एक केजी ८० ग्राम लागुऔषध काेकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।बिहीवार पत्रकार सम्मेलन गर्दै नेपाल प्रहरीले यसबारेमा जानकारी गराएको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशकाे अलिग्राहका ५१ वर्षीय रविन्द्रकुमार परासर र केन्याकी ६३ वर्षीया पिलिसिला वान्जा एन्ड्रिटुलाई रहेका छन् ।

गएकाे वैशाख ५ गते रविन्द्रकुमार र एन्ड्रिटुलाई काठमाण्डाैकाे ठमेलमा रहेकाे छुट्टाछुट्टै होटलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिनुभयाे । उनीहरूको साथबाट कालो रङ्गको कपडाको झोलाभित्र लुकाइरहेको खैरो रङ्गको लेडिज ब्यागमा फल्स बटम बनाई लुकाएर राखिएको अवस्थामा एक केजी ८० ग्राम कोकिन बरामद गरिएकाे उहाँले बताउनुभयाे । साथै प्रहरीले महिलाकाे साथबाट एक हजार अमेरिकी डलर पनि बरामद गरेकाे छ ।

उनीहरूलाई लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाण्डाै जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको एसपी जाेशीले बताउनुभयो । बरामद कोकिनको अन्दाजी अवैध बजार मूल्य दुई करोड ३३ लाख २८ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू