अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३२ | Colorodo: 23:47

टुँडिखेलमा घोडेजात्रा मनाईयो

बिआरटीनेपाल २०७९ चैत ७ गते ७:३० मा प्रकाशित

प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइएको छ । घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतका प्रदर्शन गरेका थिए । घोडेजात्राको राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायतका मन्त्रीगणले टुँडिखेल पुगेर अवलोकन गर्नुुभएको थियो ।

घोडेजात्रा काठमाडौं उपत्यकामा मात्र मनाइन्छ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन टुँडिखेलमा घोडेजात्रा देखाइन्छ ।जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो ।

पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भइ बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू