अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

उत्तर कोरियाद्वारा पुनः लामो दूरीको क्षेप्यास्त्र प्रक्षेपण

बिआरटीनेपाल २०७९ चैत २ गते ७:१२ मा प्रकाशित

उत्तर कोरियाले पुनः लामो दुरीको ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल जापानसँगको सम्बन्ध अझ सुदृढ बनाउन टोकियोमा वार्ता गर्न लागेका बेला प्योङयाङले उक्त क्षेप्यास्त्र प्रक्षेपण गरेको हो ।गत आइतबारदेखि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपणको शृङ्खला जारी राखेको छ । पाँच दिनको अन्तरालमा आज गरिएको प्रक्षेपण तेस्रो हो । दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले पाँच वर्षयता गरेका सबैभन्दा ठूलो संयुक्त सैन्य अभ्यासको विरोधमा प्योङयाङले शक्तिशाली क्षेप्यास्त्र प्रक्षेपण गरिएको ठानिएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा राष्ट्रपति युनले जापान र संयुक्त राज्य अमेरिकासँग त्रिपक्षीय सहयोग सुदृढ गर्न आह्वान गर्दै उत्तर कोरियाले विवेकहीन गतिविधिको मूल्य चुकाउनुपर्नेछ बताउनुभयो । जापानको मन्त्रिपरिषद् कार्यालयले उक्त क्षेप्यास्त्र छ हजार किलोमिटरभन्दा बढी उचाइमा पुगेको जनाएको छ ।प्रधानमन्त्री फुमियो किशिदाले कोरियाली प्रायद्वीपमा शान्ति र स्थायित्वको अपरिहार्यतामा जोड दिँदै पछिल्लो घटनाक्रमबारे राष्ट्रिय सुरक्षा परिषद्का पदाधिकारीसँग परामर्श गर्ने बताउनुभएको छ ।

जापानमा कोरियाली नेताले लामो समयदेखिको दुई देशबीचको तनावपूर्ण कूटनीतिक सम्बन्ध सुधारको प्रयास गर्नुहुने बताइएको छ । दक्षिण कोरिया र जापानले रक्षा खर्च र संयुक्त सैन्य अभ्यासलाई बढाइरहेका छन् । क्षेत्रीय एवम् विश्वव्यापी स्थायित्वका निम्ति रक्षा खर्च र सैन्य अभ्यास बढाउन आवश्यक भएको राष्ट्रपति युनले बताउनुभएको छ ।

जापान प्रस्थान गर्नुअघि कोरियाली राष्ट्रपतिले उत्तर कोरियाको आणविक एवम् क्षेप्यास्त्रको जोखिम बढिरहेका बेला कोरिया र जापानबीचको सहयोग बढाउनु समयको माग भएको पत्रकारहरूलाई बताउनुभएको थियो ।उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोध गर्दै छिमेकीहरूलाई चेतावनी दिन जापान शिखर सम्मेलनकै दिन पारेर क्षेप्यास्त्र प्रक्षेपण गरेको सुरक्षा विश्लेषकहरूले बताएका छन् । उत्तरले हतियार विकासको औचित्य प्रमाणित गर्ने बहाना खोजी रहेको उनीहरूको टिप्पणी छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू