अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

परराष्ट्र मन्त्री पौड्यालसँग भारतीय विदेश सचिवको भेट

बिआरटीनेपाल २०७९ फागुन १ गते ६:३० मा प्रकाशित

परराष्ट्र मन्त्री डा. विमला राई पौड्याल र भारतीय विदेश सचिव विनमोहन क्वात्राबीच भेटवार्ता भएको छ । सोमवार सिंहदरबारमा मन्त्री पौड्याल र सचिव क्वात्राबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउँदै विकास सहायता अभिवृद्धि गर्नेलगायतका विषयमा छलफल भएको मन्त्री पौड्यालले जानकारी दिनुभयो । उहाँले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटका सम्बन्धमा समेत छलफल भएको बताउनुभयो ।मुख्यगरी नेपालमा विकास सहायता वृद्धि गर्ने, लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषयमा छलफल भएको थियो ।भेटमा मन्त्री पौड्यालले जलवायु परिवर्तनका मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा दक्षिण एसियाका देशको एउटै आवाजका लागि संयन्त्र बनाउने सम्बन्धमा समेत कुरा राख्नुभएको थियो ।

भारतका विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाण्डौ आउनुभएको हो । नेपाल आएलगत्तै उहाँ सचिवस्तरीय बैठकमा सहभागी हुनुभएको थियो । सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा उहाँहरूबीच कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो । विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो । दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकता अनुरूप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू