अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१७ | Colorodo: 11:32

सत्य सूचना प्रवाह गरे मात्रै सुशासन कायम हुन्छ : स्वास्थ्य राज्यमन्त्री कार्की

बिआरटीनेपाल २०७९ माघ १३ गते ५:५४ मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोषिमा कार्कीले सञ्चारमाध्यमहरुले आफ्नो विरुद्धका समाचार मात्रै प्रकाशन गरेको भन्दै आपत्ति जनाउनुभएको छ । शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले नवनियुक्तमन्त्री कार्कीलाई बधाई ज्ञापन गर्न मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा सञ्चारकर्मीहरुले उठाएको प्रश्नको उत्तर दिँदै उहाँले यस्तो आशय व्यक्त गर्नुभएको हो ।

सञ्चारकर्मीहरुको दुई जना मन्त्रीहरुले एकै कार्यक्रममा एकैपटक रिबन काटेको पहिलो पटक देखेका थियौँ, यो गर्न जरुरी थियो र ? भन्ने प्रश्नमा उहाँले अस्पतालको कार्यक्रममा क्याथ ल्याबको उद्घाटनसँगै जनशक्तिका मुद्दाहरु, क्याथ ल्याबमा आवश्यक भएका कुराहरु, सेवा विकेन्द्रीकरणका कुराहरु, दरबन्दीका इस्युजहरुका धेरै कुराहरु उठेपनि नराम्रो कामको प्रकाशन गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

राज्यमन्त्री कार्कीले सिटी स्क्यान, एमआरआईका लागि आवश्यक सामग्री पनि अपुग अवस्थाका आफूले कुरा उठाएपनि त्यसको समाचार नबनेको तर रिबन काटेको समाचारलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले सत्य र सही सूचना प्रवाह गरेको खण्डमा मात्रै देशमा सुशासन कायम हुने बताउनुभयो । माघको पहिलो साता वीर अस्पतालले सुरु गरेको ल्याब सेवा उद्घटन कार्यक्रममा एउटै कार्यक्रमको उद्घाटन स्वास्थ्यमन्त्री र स्वास्थ्य राज्यमन्त्रीले सँगसँगै गर्नुभएको थियो । मन्त्री र राज्यमन्त्रीले एकै ठाउँमा राखिएका दुई वटा अलग अलग रिबन काटेसँगै सामाजिक सञ्जालमा त्यसको विरोध भएको थियो ।

मन्त्री कार्कीले गत मंगलबार संसद भवनबाहिर आत्मदाह गर्नुभएका प्रेमप्रसाद आचार्यलाई आईसीयुमा भेट्न जाँदा आफूले कुनैपनि स्वास्थ्यको प्रोटोकल नमिचेको बताउनु भयो । मंगलबार साँझ राज्यमन्त्री कार्की कीर्तिपुर अस्पताल आचार्यको स्वास्थ्यस्थितिको बारेमा बुझ्न पुग्नुभएको थियो । आचार्यलाई भेट्दाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै मन्त्री कार्कीले स्वास्थ्यका प्रोटोकलको पूर्ण पालना नगरेको भन्दै बिरोध भएको थियो ।

विरोधपछि उहाँले आफूले अस्पतालमा हुँदा कुनैपनि स्वास्थ्यका नियमहरु नतोडेको बताउनुभयो । उहाँले आफूभित्र रहेको मानवता, एक चिकित्सकको हिसावबाट आफू आचार्यलाई नभेटी बस्न नसकेको बताउनुभयो ।

राज्यमन्त्री कार्कीले कुनैपनि नागरिकले आर्थिक स्थिति कमजोर भएकै कारणले स्वास्थ्य सेवा लिनबाट वञ्चित हुनुनपर्ने गरी काम गर्नेपनि प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बीमालाई वैज्ञानिक ढंगबाट बिस्तार र लक्षित वर्गमा पुर्‍याउने गरी काम गरिरहेको बताउनुभयो । स्वास्थ्य सेवालाई चुस्त बनाउन एकीकृत एम्बुलेन्स कार्ययोजना अघि बढाइरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू