अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५९ | Colorodo: 06:14

मूल्यवृद्धि साढे ७ प्रतिशत नजिक

बिआरटीनेपाल २०७९ पुष २९ गते ४:२७ मा प्रकाशित

चालु आर्थिक वर्षको पाँच महिनामा उपभोक्ता मुद्रास्फीति झन्डै साढे सात प्रतिशत पुगेको छ ।   नेपाल राष्ट्र बैंकले आज शुक्रवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव ३८ प्रतिशत छ । गएकाे आर्थिक वर्षको यही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ११ प्रतिशत बराबर थियो ।

राष्ट्र बैंकका अनुसार मङ्सिर महिनामा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ८५ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ५९ प्रतिशत रहेको छ ।यही अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क १५ दशमलव ५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११ दशमलव ८१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ३९ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको नौ दशमलव शून्य सात प्रतिशत र पेय पदार्थको आठ दशमलव ८४ प्रतिशतले बढेको छ ।

मङ्सिर मसान्तसम्ममा गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १७ दशमलव ३३ प्रतिशत, स्वास्थ्यको ११ दशमलव २२ प्रतिशत र मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ७६ प्रतिशतले बढेको छ । त्यस्तै घरायसी उपयोगका वस्तुहरूको आठ दशमलव २९ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको मूल्य आठ दशमलव २९ प्रतिशतले बढेको छ । राष्ट्र बैंकको विवरणअनुसार यही अवधिमा उपत्यकामा छ दशमलव ५६ प्रतिशत, तराईमा आठ प्रतिशत, पहाडमा सात दशमलव ३२ प्रतिशत र हिमालमा छ दशमलव ४८ प्रतिशत मुद्रास्फीति रहेको छ । गएकाे वर्षको मङ्सिर महिनामा यी क्षेत्रहरुमा क्रमशः पाँच दशमलव ९१ प्रतिशत, सात दशमलव ५२ प्रतिशत, छ दशमलव ९५ प्रतिशत र चार दशमलव ९१ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

गएकाे मङ्सिर महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति नौ दशमलव १५ प्रतिशत रहेको थियाे । अघिल्लो वर्षको यही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव २२ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया