अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

आगामी ९ दिन भित्र मतगणना कार्य सम्पन्न हुने निर्वाचन आयोगको अनुमान

बिआरटीनेपाल २०७९ मंसिर ६ गते ६:३७ मा प्रकाशित

निर्वाचन आयोगले करिब ९ दिन भित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने अनुमान गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सहज ढंगले सम्पन्न भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य सो समय भित्र सम्पन्न गरिसक्ने योजना रहेको बताउनुभएको हो ।उहाँले बाजुरामा भने मानवीय क्षति भएकाले स्थिति सहज भएपछि त्यहाँको निर्वाचन अधिकृतसँग आवश्यक छलफल गरी मतदानको मिति तय हुने समेत स्पष्ट पार्नुभयो । सहायक प्रवक्ता अर्यालले भन्नु भयो, ‘प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ दुवैको मतगणना जारी छ । प्रदेशसभाको पनि एकसाथ प्रत्यक्ष र समानुपातिकका मतगणना हुन्छ । हाम्रो राम्रोसँग सम्पन्न भएका र सही तरिकाले गणना प्रक्रिया अघि बढेका स्थानहरुको मत गणना आयोगले भनेजस्तै अवको ८/९ दिनमा सकिने अनुमान गर्न सक्छौँ ।’

मंसीर ४ गते देशभर एकैसाथ मतदान भएको थियो । त्यसमध्ये १५ वटा मतदान केन्द्रमा भने मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । हाल प्रतिनिधिसभाको १३८ वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको र धमाधम मतपरिणाम आइरहेको पनि आयोगका सहायक प्रवक्ता अर्यालले बताउनुभयो । हाल प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना भइरहेको छ । मतगणना रोकिएको कतिपय स्थानहरूमा भने राजनीतिक सहमति गरेर त्यहाँको मतगणना कार्य सुरु गर्ने पनि आयोगका सहायक प्रवक्ता अर्यालले बताउनुभयो । आयोगले सबै क्षेत्रहरूमा मतगणना सुरु भएको मितिले २ दिन भित्र मतगणना गरिसक्ने योजनाका साथ काम गरिरहेको बताएको छ । स्थगन भएका कतिपय स्थानहरूको मत परिणाम भने अझै केही समय पर्खनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू