अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३० | Colorodo: 13:45

विप्लव नेतृत्वको नेकपासहित ३ वामपन्थी पार्टीले चुनाव बहिष्कार गर्ने, २६ देखि ३० गतेसम्म विरोध प्रदर्शन गर्ने

बिआरटीनेपाल २०७९ कार्तिक २० गते ६:०१ मा प्रकाशित

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित साना ३ वामपन्थी पार्टीहरुले चुनाव बहिष्कार गर्ने घोषणा गरेका छन् ।विप्लव नेतृत्वको नेकपासहित ऋषि कट्टेल नेतृत्वको नेकपा र विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

आज आइतबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरेर ३ वटा साना वामपन्थी राजनीतिक दलहरुले चुनाव बहिष्कार गर्ने घोषणा गरेका हुन् । बहिष्कार कार्यक्रममा लागि कात्तिक २६ गतेदेखि ३० गतेसम्म देशव्यापी रुपमा विरोध प्रदर्शन र कोणसभा समेत आयोजना गर्न लागिएको नेकपाका नेता प्रकाण्डले जानकारी दिनुभयो । उहाँले दलालहरुले जित्ने चुनावले जनताको अधिकार सुनिश्चित नहुने भएकाले त्यसको विरोधमा आफूहरुले चुनाव बहिष्कार गर्ने नीति लिनु परेको बताउनुभयो ।

नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपालमा संसदवादको अन्त्य गर्नका लागि आफूहरुले चुनाव बहिष्कार गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले नेपाली क्रान्तिलाई सफल बनाउन पनि चुनाव बहिष्कारको कार्यक्रमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

वैज्ञानिक समाजवादी पार्टीले चुनावको नौटंकी देशको हितमा नरहेकाले त्यसको बहिष्कार गर्ने कार्यक्रम घोषणा गर्नु परेको बताएको छ । पार्टीका महासचिव विश्वभक्त दुलाल ‘आहूति’ले क्रान्तिकारी शक्तिहरुबीचको एकताबाट मात्रै नेपाली जनताको अधिकारलाई सुनिश्चित गर्न सकिने भएकाले पनि आफूहरुले चुनाव बहिष्कारको कार्यक्रमलाई संयुक्त रुपमा अघि बढाएको उल्लेख गर्नुभयो ।

३ वटै पार्टीले चुनावको भण्डाफोर गर्ने भन्दै काठमाडौंमा कात्तिक २४ गते, बुटवल र इटहरीमा कात्तिक २६ गते, बर्दिबास र पोखरामा कात्तिक २८ गते तथा सुर्खेत र धनघढीमा कात्तिक ३० गते विरोध प्रर्दशन र कोणसभा आयोजना गरेका छन । सोही कार्यक्रम स्थानीय स्तरमा पनि आवश्यक्ताको आधारमा तय गरिएको पनि नेकपाका नेता प्रकाण्डले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू