अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५७ | Colorodo: 14:12

फेरि मतदान गर्नुपर्ने अवस्था आउन दिन्नौँ : प्रमुख निर्वाचन आयुक्त थपलिया

बिआरटीनेपाल २०७९ कार्तिक २० गते ५:५९ मा प्रकाशित

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कुनै पनि मतदान केन्द्रमा फेरि मतदान गर्नुपर्ने स्थिति सृजना हुन नदिने गरी चुनाव सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताउनुभएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनका सन्दर्भमा आज आइतवार झापाको बिर्तामोडमा निर्वाचन आयोग र नेपाल कानुन समाजले आयोजना गरेको ’निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका’ विषयक कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख आयुक्त थपलियाले ठूलो प्राकृतिक विपत्तिबाहेक अन्य कारणले मतदान स्थगित हुने अवस्था नहुने बताउनुभयो । उहाँले सुरक्षाका कारण वा राजनीतिक दलले कुनै पनि मतदातालाई प्रभाव पार्ने कुनियत राखेको खण्डमा त्यस्ता तत्त्व वा व्यक्तिलाई नियमसङ्गत कारबाही गरिने बताउनुभयो ।

कुनै पनि मतदाताले आफूलाई लोभलालच र धाकधम्कीका कारण मतदान गर्नबाट अफ्ठ्यारो स्थिति सृजना गरियो भन्ने गुनासो आउने वातावरण नै नहुने गरी आयोग देशभर सचेतनामूलक कार्यक्रम लिएर हिँडिरेको उहाँको भनाइ थियो । प्रमुख आयुक्त थपलियाले निर्वाचन आचारसंहिता र चुनाव खर्चको पालनासहित स्वच्छ र स्वतन्त्र चुनाव गराइने बताउँदै उहाँले सामाजिक सञ्जालमार्फत हुन सक्ने मिथ्या सूचना, दुष्प्रचार र घृणाष्पद अभिव्यक्तिलाई नियमन गर्नसमेत आयोग लागिपरेको बताउनुभयो ।

चुनावको स्वच्छतासँगै लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताको भरपूर उपभोग गर्न सक्ने वातावरणका साथ यो चुनावलाई सम्पन्न गराउन आयोग अघि बढेको उहाँले बताउनुभयो । कार्यक्रममा झापाका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावाली, प्रमुख जिल्ला अधिकारी छवि रिजाल, जिल्ला प्रहरी प्रमुख विश्वमणि पोखरेल, नेपाल बार एसोसिएशनका पदाधिकारी, विभिन्न उम्मेदवार, जिल्लामा रहेको राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू