अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४७ | Colorodo: 08:02

गठबन्धनको जित सुनिश्चित छ : डा. आरजु राणा

बिआरटीनेपाल २०७९ कार्तिक १३ गते ५:१७ मा प्रकाशित

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित रहेको दाबी गर्नुभएको छ । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै डा. देउवाले गठबन्धनबाट अधिकांश बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसकेका र आ–आफ्ना कार्यकर्ताले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न गठबन्धनमा आवद्ध पार्टीका नेता, स्थानीय तहका कार्यकर्ता तथा आम मतदाताहरू देशव्यापी रूपमा आतुर रहेकाले जित सुनिश्चित रहेको बताउनुभयो ।

वर्तमान सरकारले छोटै समयमा गरेका राम्रा कामका साथै नेपाली कांग्रेस जस्तो पुरानो प्रजातान्त्रिक शक्तिको नेतृत्वलाई नै नेपाली जनताले रुचाएकाले पनि आगामी निर्वाचनमा सत्तारूढ गठबन्धनको जित सुनिश्चित रहेको उहाँले दाबी गरेकी छन् ।उहाँले नेपाली कांग्रेसले अहिलेको गठबन्धनको टिमलाई नै लिएर निर्वाचनपछि पनि अघि बढ्ने प्रण गरिसकेकाले यही टिमको भावनालाई बुझेर सबैले गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।

नेत्री राणाले मुलुकमा लोकतन्त्रपछि प्राप्त उपलब्धिको रक्षा गर्न, संविधानको रक्षा गर्न तथा नागरिक स्वतन्त्रताको संरक्षणका लागि वर्तमान सत्ता साझेदार गठबन्धनका उम्मेदवारहरूले विजय हासिल गर्नुपर्ने धारणा राख्नुभयो । नेत्री डा. राणाले यो सरकार निर्माण भएको छोटो समयमै विकास निर्माणका साथै अरू धेरै काम भएका प्रसङ्ग पनि सो अवसरमा उल्लेख गर्नुभयो ।

नेत्री राणा आइतबार छठको अवसरमा पूजा एवं दर्शन गर्न जनकपुरधाम जानुभएको हो । उहाँले आइतबार दिउँसो जनकपुरधामस्थित गङ्गासागरमा छठ पर्वको ब्रत एवं पूजाआजाको अवलोकन गर्ने कार्यक्रम छ । सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने क्रममा नेत्री राणा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको गृह गाउँ नगराइन नगरपालिका जाने कार्यक्रम रहेको कांग्रेस धनुषा क्षेत्र नं ३ का क्षेत्रीय सभापति धीरेन्द्र निधिले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू