अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

एकै दिनमा २० वटा साहित्यिक बहस

बिआरटीनेपाल २०७९ असोज ३० गते १३:०८ मा प्रकाशित

काठमाडौँ । शनिवार बिहानबाट ललितपुरको हिमालय होटेलको दुई फरक हलमा सुरु भएको ‘कलिङ साहित्य महोत्सव काठमाडौँ’मा आइतबार साँझ सम्पन्न भएको छ । आइतबार विभिन्न २० वटा शीर्षक र सेसनमा बहस हुँदै महोत्सव सम्पन्न भएको हो । आइतबार यो महोत्सव काव्य मय भयो । २० मध्य आधा दर्जन सेसनमा विभिन्न स्रष्टाहरूले आफ्ना कविता, गजल प्रस्तुत गरेर कार्यक्रमलाई काव्यमय तुल्याए ।

आइतबार बिहानको दुवै सेसन कवितामय भएको थियो । त्यसपछि साँझको दुई सो काव्यमय बन्यो । एउटा सेसनमा कवि वसन्त चौधरीले आफ्ना कविताबाट दर्शकको मन जिते भने अको सेसनमा विभिन्न गजलकारहरूले महफिल जमाए । बिहानी पखको अर्को सेसन पनि कवितामा केन्द्रित थियो । दिउँसोको एउटा सेसनमा त अङ्ग्रेजी कवितासमेत यो महोत्सवमा सुन्न पाइयो ।

यस अघि एक दशकदेखि भारतमा आयोजना हुँदै आएको यो महोत्सवको ११ औँ संस्करण अन्तर्राष्ट्रिय महोत्सवको रूपमा यस पटक नेपालमा भएको हो । महोत्सव निकै राम्रो भएको वक्ताहरूले कार्यक्रममा बताए । जसमा भारतबाट ६० भन्दा बढी साहित्यकार बाँकी नेपालका गरेर ३०० भन्दा बढी साहित्यकार सहभागी थिए । अर्को वर्ष पनि आफूहरूले यो महोत्सवलाई काठमाडौँमा गर्न सक्ने महोत्सवका संस्थापक अध्यक्ष रश्मीरञ्जन परिताले बताए ।

यसरी विभिन्न शिर्षकका २० वटा बहस सेसनसँगै आइतबार बेलुकाबाट कलिङ साहित्य महोत्सव काठमाडौँ सकिएको हो । यो महोत्सवमा शुक्रवार विभिन्न १८ वटा शीर्षकमा १९ सेसन बहस भएको थियो । आइतबार २० गरी ३८ सेसनमा साहित्यिक बहस यस पटक भयो ।

आइतबार बहिनको सेसनमा भारतका अग्रज अशोक वाजपेयी सहित भारतीय कवि अरुण कमल, गगन गिल, भ्योमेश शुक्ला नेपाली कविहरू दिनेश अधिकारी, अशेष मल्ल, वसन्त चौधरीलगायतले आफ्नो चर्चित कविता सुनाए । विनीत कुमार यो सेसनको सूत्रधार थिए । अर्को हलमा सोही समय अर्को काव्य कार्यक्रम भएको थियो । जसमा श्रवण मुकारुङ, सीमा आभास, सन्ध्या पहाडी, गीता कार्की, मोमिला बस्नेत, टङ्क उप्रेती, प्रोलास सिन्धुलिया, मधु पाठक लगायतले कविता सुनाए ।

निबन्धकार कुमारी लामाले चुनौती धेरै भए पनि लेख्न नछाड्न महिला लेखकहरूलाई अनुरोध गरिन् । लेखनमा महिलाहरूको चुनौती र भविष्यबारे बहसमा उनले यसो भनेकी हुन् । सगुन शाहले सञ्चालन गरेको यो कार्यक्रममा सावित्री कक्ष पतिले विगतमा भन्दा अहिले महिलाहरूलाई लेखनमा लाग्न निकै सहज भएको बताइन् ।

नेपालका लागि भारतका पूर्व राजदूत रञ्जित रेले नेपाल भारतको सम्बन्ध र संस्कृतिबारे प्रकाश पारे । नेपाल भारतको कूटनीतिक तथा अन्य सम्बन्धबारेका सेसनमा उनले नेपालले भारत र बङ्गलादेशमा ऊर्जा निर्यात गरेर ठुलो आम्दानी गर्ने पनि उनले बताए ।

सोही क्रममा अर्को हलमा भएको भारत नेपाल कला सम्बन्धीको बहसमा नेपालकी पूर्व कुलपति रागिनी उपाध्याय र भारतीय चित्रकार मनिष पूस्कलेले नेपाल भारतको कला सम्बन्धको बारेमा चर्चा गरे ।

यस्तै पब्लिकेशनको डिजिटल इरा बारेको बेसनमा पनि डिजिटलले पब्लिकेशनमा ल्याएको क्रान्ति र यसको सहजताबारे चर्चा गरियो । अशोक महेश्वरी, सत्यनन्द निरुपम, सृजन मास्केलगायतले यो सेसनमा डिजिटलले पब्लिकेशनमा ल्याएको परिवर्तन र फाइँदासँगै यसका असरबारे चर्चा गरे ।

सञ्चारकर्मी युवराज घिमिरे र ओम थान्भीले भारत नेपालको सम्बन्धमा मिडियाको भूमिकाबारेको बेसनमा आफ्ना भनाई राखे । मिडियामा रहेर दुई देशको सम्बन्धको बारे आफूहरूले गरेका कामको अनुभव सुनाउँदै दुई देशको सम्बन्धलाई सुमधुर बनाउन मिडियाको पनि ठुलो हात हुने उनीहरूले जिकिर गरे ।

चलचित्र निर्देशक दीपेन्द्र के खनाल, सुजित बिडारी, सुवर्ण थापा, सम्पदा मल्ललगायतले समाज, साहित्य र सिनेमा शीर्षकको बहस सेसनमा सिनेमा र समाजको सम्बन्धबारे चर्चा गरे ।

गगन गिल, प्रा.डा. वीना पौडेल, आनन्द नीलकण्ठ, कविता सिंहले महिला सशक्तीकरण बारेको बेसनमा नेपाल र भारतका महिलाहरूको अवस्थाबारे चर्चा गरे । विभिन्न कारणले दुई देशका महिलाहरूको अवस्था मिल्ने गरेको उनीहरूको कथन थियो । महोत्सवकी निर्देशक रञ्जना निरौलाले कार्यक्रमको सञ्चालन गरेकी थिइन् ।

नविता श्रीकान्त, ओम थान्भी, तुलसी दिवस, प्रेम प्रधानलगायतले यस्तै भारत र नेपालको अध्यात्म, संस्कृति र साहित्य सम्बन्ध बारेको बहस सेसनमा दुई देशको संस्कृतिसम्बन्धीले साहित्य सृजनामा पुर्‍याएको मद्दतबारे चर्चा गरे ।

महोत्सवमा आईतबारसाँझ कवि वसन्त चौधरीले आफ्नो महफिल जमाए । उनको कविता वाचन कार्यक्रम पनि निकै रोचक भयो । साँझको कलिङ काठमाडौँ महफिल सेसन पनि काव्यमय भयो । यसमा पनि विभिन्न गजलमाथि बहससँग गजल प्रस्तुत गरियो । आइतबार दिउँसोको एउटा सेसन अङ्ग्रेजी कवितामय भयो । जसमा दर्जन कविहरूले आफ्ना अङ्ग्रेजी कविता सुनाए ।

यसरी दुई दिनको यो अन्तर्राष्ट्रिय महोत्सव विभिन्न कार्यक्रम सहित आइतबार बेलुकाबाट सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू