अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

दशैँअघि नै तातोपानी नाका खोल्ने प्रयास : परराष्ट्र मन्त्री खड्का

बिआरटीनेपाल २०७९ भदौ २६ गते ७:०४ मा प्रकाशित

परराष्ट्र मन्त्री डा. नारायण खड्काले सिन्धुपाल्चोकको तातोपानी नाका तत्काल खुला गर्ने प्रयास भइरहेको बताउनुभएको छ । आइतवार मन्त्रालयमा नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका पदाधिकारी र व्यवसायीले नाका खोलेर व्यवसाय सञ्चालनको वातावरण तयार गरिदिन आग्रह गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । सहजरूपमा सञ्चालन गर्नका लागि चिनियाँ पक्षसँग पनि कुरा गरिरहेको उहाँले जानकारी दिनुभयो । चिनियाँ पक्षसँगको भेटमा पनि नाका सञ्चालन गर्ने कुरामा विशेष जोड दिने उहाँकाे भनाइ छ ।

मन्त्री खड्काले दशैँभन्दा अघि नै आपूर्ति सहज हुने हिसाबले सकारात्मक नतिजा दिने बताउनुभयो । उहाँले सोमवार चिनियाँ जन कंग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेपाल आउने र मङ्गलवार आफूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै उहाँसँगको भेटमा नाका सञ्चालनको बारेमा कुरा राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चाँडो भन्दा चाँडो ताताेपानी नाकामा आयात–निर्यात खुला गर्ने कुरा गरिरहेको छु । चिनियाँ राष्ट्रिय कंग्रेसका सभामुख नेपालको तीन दिने नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । यसबारेमा म उहाँसँगकाे भेटमा कुरा गर्नेछु ।’

ज्ञापनपत्र बुझाएपछि नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतले अब पनि कोरोनाको नाममा नेपालले नाकामा गर्ने व्यापार रोक्न नहुने बताउनुभयो । उहाँले सरकारले चाँडै नै नाकामा हुने व्यापार, व्यवसाय धेरै सुधार गर्दै जाने अपेक्षा राखेको बताउनुभयो । ज्ञापनपत्र बुझाएपछि वाणिज्य सङ्घका अध्यक्ष अशोककुमार श्रेष्ठले दशैँ आइसकेको अवस्थामा राम्रोसँग नाका सञ्चालन हुन नसक्दा बजार व्यवस्थापनमा समस्या भइरहेको बताउनुभयो । उहाँले समयमा सामान नआउँदा त्यसको लागत धान्न नसकेकाे भन्दै सरकारले चाँडो भन्दा चाँडो नाका सञ्चालन गर्ने पहल गरिदिन आग्रह गर्नुभयो ।

ज्ञापनपत्र बुझाएपछि सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष होमबहादुर बस्नेतले तातोपानी नाका विं.सं. २०७२ सालको जस्तै गरी सञ्चालन गरे व्यवसायीले राहत पाउने बताउनुभयो । उहाँले परराष्ट्र मन्त्रीले यसबारेमा पहल गरिदिने र चाँडै व्यापार, व्यवसायको व्यवस्थापन हुनेमा आफू आशावादी रहेको बताउनुभयो । आइतवार हिमालपारि व्यापार सङ्घले सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको हो । परराष्ट्र मन्त्रालयमा पुगेर नेता बस्नेतसहितका सङ्घका पदाधिकारी र व्यापारीले परराष्ट्र मन्त्री डा. नारायण खड्कालाई ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू