अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०८ | Colorodo: 17:23

असल मानिसबाट लेखिएको असल कृति

गोपी मैनाली २०७९ साउन २८ गते १२:५९ मा प्रकाशित

असल कृतिहरू धेरै लेखिएका छन्, समाजमा असल मानिसहरू पनि छन् । तर असल मानिसबाट लेखिएका असल कृति भने अपवादमा मात्र पाइन्छन् । एउटा असल संयोग जुटेको छ–असल मानिसबाट लेखिएको असल कृति असलपन र प्रभावकारिताको सम्वद्र्धन माथि प्रकाश पार्ने ।
जिम्मेवारी कृतिमाथि प्रकाश पार्ने मात्र हो, तर कृतिकारमाथि पनि केही प्रकाश पारिएन भने कृतिमाथि प्रकाश पर्दैन । साँचो अर्थमा कृति र कृतिकार एकै हो । यदि कृतिकार कृतिमा व्यक्तिन सकेन भने कृति कृत्रिम हुन्छ, कृतिकारले गलत कुरा व्यक्त्यायो भने कृति अक्षर हुन्छ, अक्षरले आदर्श बोक्दैन । कृतिकार आदर्श छ भने मात्र अक्षरले आदर्श अन्तरवोध गर्छ । ‘असलपन र प्रभावकारिता सम्वद्र्धन’ कृतिले व्यक्तिलाई र व्यक्तिले कृतिलाई बोकेका छन् । त्यसैले मलाई कृतिका विषयमा बोल्न गौरव लागेको छ । यस्तो अवसर विरलै जुट्छ । मैले व्यक्ति र कृति छुट्याउनै परेन ।

‘प्रेमले भरिएका आँखा, श्रद्धाले झुकेको शिर, सहयोग गर्दै गरिएका हात, सत मार्गमा हिड्दै गरेका पाउ र सत्यसँग जोडिएको जिब्रो …। सदैव तपाईँका आँखा, शिर, हात, पाउ र जिब्रो मानवता र सामाजिक कार्यमा सफल होस् । पराइलाई पनि कार्यका हातले आफ्नो बनाउन सक्नुहोस् ।’ अरूको शब्द सापटीमा पहिला लेखकलाई शुभकामना ।

मनोवृत्तिको शुद्धीकरण, असल अचारण र सेवाभावको प्रस्तुति रामबाबु नेपालका कृतिहरूमा पाइने साझा विशेषता हुन् । आत्मिक चेत र मानवीय मूल्यलाई विचार अनि व्यवहारमा दुवैतिर अवलम्बन गर्ने पात्रका रूपमा रामबाबु नेपाल चिनिँदै आउनुभएको छ ।

लामो जीवन सार्वजनिक जीवनमा रहनु भएको अनुभवले सार्वजनिक जीवनमा ‘सार्वजनिक जीवनका सिद्धान्तहरू’ स्खलित हुँदै गएको देख्नु भएकोले होला, अन्तर्राष्ट्रिय क्षेत्रको लामो जिम्मेवारीमा रहँदा मानवता सम्वद्र्धन, प्रवद्र्धन गर्न चाहिने निष्कर्ष निकाल्नु भएकोले होला, र लामो समयदेखि सामाजिक सेवामा संलग्नताका कारण सामाजिक व्यवहारमा के अभाव छ त्यो देख्नु/भोग्नु भएकाले होला, उहाँका कृतिहरूमा नैतिक आदर्श, सेवा र असलपनले स्थान पाएका छन् । लाग्छ ती असल जीवनका सिद्धान्त र सूत्रहरू हुन् । ज्ञान व्यवस्थापनले ज्ञानको कुरा गरेथ्यो, असलपन र प्रभावकारिताको सम्वद्र्धनले व्यवहारको कुरा गरेको छ । ज्ञान मात्रले समाज कहाँ सभ्य र समृद्ध बन्छ र ?

समाज निमानवीकृत हुन लागेको कारण पनि हुनसक्छ रामबाबु नेपाल मानवीय दृष्टिकोणका पुस्तकहरूमा उपस्थित हुँदै आउनु भएको छ । पहिला व्यवस्थापनका कुरा मात्र पढ्थ्यौँ, अव समाज व्यवस्थापनका आचार विधि र सोच संस्कारहरू पढ्न पाएको छौँ ।

समाजमा असल किताबहरू लेखिएका छन्, समाजमा धेरै मानिसहरू असल पनि छन् । असल आचरण नभएका मानिसहरूले पनि असल कुरा धेरै लेखेका छन्, असल उपदेश पनि दिएका छन् । असल व्यवहार भएका मानिसहरूले असल कुरा अक्षरमा ज्यादै थोरैले उतारेका छन् । कतिपय असल मानिसहरू अक्षरमा अभिव्यक्ति गर्ने जाँगर नगरेर असलपन आफैभित्र खुम्च्याएर असल समाज निर्माणमा योगदान दिन पछि परेका छन् । यो पुस्तक असल मानिसको असल सिर्जना हो, यसले समाजलाई असल बनाउन धेरै कुराहरू दिएको छ ।

असल मानिसले असल कुरा लेख्दा अक्षरले पनि सजिलै स्वीकृति दिन्छ, अभिव्यक्तिमा पनि अन्तरवोध हुन्छ । असल नभएका मानिसले असल कुरा लेखेर नै संसार असल बन्न अलमलिएको हो, असलपनमाथि अन्याय भएको हो । बाटो देखाउने गुरु साँच्चै असल हुनुपर्छ, अनि मात्र असलपनको अन्तर्य भेटिन्छ, असलपनको बाटो सरल र सुस्पष्ट हुन्छ ।

अव कृति केन्द्रित विवेचना गरौँ । असलपनमा लेखकको दृष्टिकोणबाट सुरु गरौँ । ‘हरेक मानिसमा आधारभूत भद्रता र असलपन हुन्छ । तर असजिलो कुरा त्यो असलपन व्यवहारमा अनुवाद गर्ने साहस धेरै मानिसमा हुँदैन’ । यो नै पुस्तकको प्रारम्भ मात्र होइन, सार पनि हो । अहिलेको सामाजिक मूल्य संस्कृति सुधारका लागि सकारात्मक रूपमा आग्रह गर्ने शैली हो यो । अलि मानिसको आग्रह शैली पनि सकारात्मक र शिष्ट हुन्छ ।

लेखकको दृष्टिकोण छ असलपन र सत्य मानिसलाई प्रतिकूल परिस्थितिबाट बचाउँछ । असलपन नैतिक शक्ति पनि हो । तर असलपन एउटा घटना वा एकपटक देखाएर पुग्ने कुरा होइन, जो हामी बहुधा मानिस गर्छौ, यो जीवन पर्यन्त चाहिने विषय हो, जसलाई हामीमध्ये थोरैले अपनाएको छौँ ।

असलपनको विशेषता के हो त भने लामो समयमा निर्माण भएको असल संस्कृति सानो घटनाबाट नै भत्किन सक्छ । त्यसैले व्यवहारमा सावधानी र सचेतता चाहिन्छ ।

सर्जकको आग्रह छ, दृष्टिकोण छ ‘मानिसको महानता उसको सम्पत्ति र शक्तिमा होइन, चरित्र र असलपनमा निर्भर हुन्छ । मानिस मानिस नै हो । त्यसैले केही कमजोरी, केही भूल हुन्छ । तर हामी सबै केही असलपन लिएर जन्मेका हुन्छौँ’ ।

यही असलपन, विवेक र सोचवृत्तिबाट अरू प्रजातिभन्दा मानिस सर्वश्रेष्ठ भएको हो । सर्वश्रेष्ठ मानवजातिका सबै सदस्य समान छन्, रूपमा, शक्तिमा, सम्बन्धमा, उमेरमा, पदमा, पढाइमा उम्दा छु भन्नु व्यर्थ हो, अज्ञानीहरू ज्ञानको दम्भमा ज्ञानमाथि नै अन्याय गर्दछन् । व्यक्तिको श्रेष्ठता कर्मले दिन्छ । चाहेर होइन, गरेर, भनेर होइन व्यवहार र आचरणले मानिस श्रेष्ठता सिद्ध गर्छ । बुद्ध भनौँ कि गान्धी, मर्यादा पुरुषोत्तम राम भनौँ कि सत्यवादी युधिष्ठिर, सबैले कर्मले श्रेष्ठता हासिल गरेथे । कर्ममा त्याग पनि हुन्छ, समर्पण पनि हुन्छ । त्याग नगर्ने, स्वार्थमा रहनेहरू कहिल्यै श्रेयठ बनेनन् । यस शताब्दीका राजनेता नेल्सन मण्डेला, यस शताब्दीका अद्भुत कर्मवीर एलन मस्क कर्मको अथक यात्राले आफ्नो स्थानमा पुगे, सन्सारलाई धेरै दिए । आचरण दिए, उदाहरण दिए, आविष्कार दिए तर त्याग गरे । असलहरू लिनका लागि भन्दा दिनका लागि जन्मिछन् । बदलामा उनीहरूले माया पाउछ्न्, सन्तुष्टिको अनुभूति पाउँछन्, मानिसको मनमा बस्छन्, कालजयी भएर अनन्तसम्म मनमा बस्छन् । असलपन र प्रभावकारिता सम्वद्र्धनले यही सार दिएको छ ।

सार्वजनिक जिम्मेवारीमा रहनेहरू त झनै असलपनका पुञ्ज हुनुपर्छ, सद्गुणहरूका पुञ्ज । उनीहरूको व्यवहारले अरूलाई प्रभाव पार्ने भएकोले असलपन झनै दर्कार पर्छ । पैसा, पद, प्रतिष्ठा, पावर, प्लेजर र प्रेमको लोभका कारण राम्रा भनिएकाहरू कति छिट्टै च्यूत भएका छन् । लेखकीय अभिव्यक्तिको सङ्केत सबै राम्रो बनांै भन्नेमा छ । कोही नराम्रो चाँहि किन हुन्छ भनेर नकारात्मक चरित्र औँल्याएर ।

निम्न वर्गीय केशर र अल्छी आरिसे बद्रीको कथामा कोही किन केशर बन्दैन र मनदेखि अर्को साथीलाई शुभकामना दिन सक्दैन भन्ने प्रतीकीय प्रस्तुतिको बिम्ब छ । मनमा ईर्ष्या र मुखमा शुभेच्छा दिनुको अर्थ के रहन्छ ? मनमा ईर्ष्या राख्नेहरू अरूको ‘शुभ’ मा आफूचाहिँ खुम्चिन्छन् र आफ्नै अशुभको मार्गमा तयार गर्दछन् । अरूलाई भलो गर्नेहरू, अरूलाई दिनेहरू, पसिना र परिश्रम गर्नेहरू मनदेखि उदात्त हुन्छन् । त्यो उदात्तता उसले अरूलाई गरेको भलोपनको प्रतिफल वा क्षतिपूर्ति हो । केशर र बद्री प्रतिनिधि पात्र भए । हामीहरू धेरै मनमा बद्री छौ तर अरूको नजरमा केशर बन्न चाहन्छौँ ।

असल केलाई भन्ने ? लेखक नैतिक आचरण, आदर्श र अनुकरणीय व्यवहारलाई असलपनको आधार मान्नुहुन्छ । जे जेक्युस रुसोले What for best for me बाट what best for all मा जानुलाई असल भनेका थिए । जो हन दुवेले समझदारी (Understanding) वा समवोधलाई असल भनेका थिए । थोमस लिकोनाले चाँहि असल बुझाई, असल चाहना र असल व्यवहार (Consist for knowing the good, desiring the good and doing the good) लाई असल मानिस भनेका थिए । कन्फुसियस, बुद्ध, गान्धी मात्र होइन, वेदका ऋचा, श्लोक र स्मृति सबैले भनेको असलपन यही हो । पूर्वीय र पश्चिमी दर्शनमा असलपनका समान धारणा छन् । फकर कहानेर छ भने पूर्वीय अलि आदर्श (भर्च्यु) नजिक छ, पश्चिात्य चाहिँ प्रक्रिया अवलम्बन गरे परिणाममा पुगिन्छ भन्छ ।

प्रत्येक व्यक्तिका आफ्ना गुणहरू हुन्छन् । सबै कार्यबाट असल सोच, असल बुझाइ, असल चाहना र असल कार्यको अपेक्षा गरिन्छ । त्यही असल कार्यबाट सभ्यता, संस्कृति र समृद्धि निर्माण हुने हो । समाजको विवेकशील पुन निर्माणका लागि असलपनको संवर्द्धन गर्न परेको हो । आधुनिक राज्य प्रणाली बुझ्ने हो भने Competent and reliable citzen, कर्तव्य बुझेका नागरिक, व्यावसायिक सदाचार भएका राष्ट्रसेवक र जनताको दुखमा मन रुने नेता अनि काममा रमाउने तमाम सर्वसाधारण चाहिएको हो । सामाजिक प्रजननशीलतालाई पात्रहरू यस्तै असल चाहिएको छ । त्यो गुम्दै गएकोमा लेखकको चिन्ता छ । त्यसैमा लेखक चिन्तन गर्दछन् । युभल नोह हरारी भनेझैँ लेखकले खाना दिन सक्दैन, सही विचार दिने हो, चिन्ता गर्ने हो, चिन्तन गर्ने हो र समाजलाई चुनौती देखाइ दिई त्यसलाई संशोधन गर्ने चेतना दिने हो ।

असलपनका आधारका रूपमा आत्मानुशासन, बौद्धिकता, उत्साह, सक्षमता, अन्तरबैयक्तिक सीप, गुणात्मक सञ्जाल र आध्यात्मिक सोच जस्ता सात स्तम्भलाई शिष्ट–संश्लिष्ट र संक्षिप्त रूपमा सान्दर्भिक उद्धरण र तथ्यका साथ प्रस्तुति गरिएको छ । उद्धरण अभिव्यक्ति यति विशिष्ट छन् कि ती आफ्ना जीवनका स्टाटस सिम्वोल थिए, भनाइमा होइन, व्यवहारमा नै उनीहरूले त्यसलाई अपनाएका थिए, जसका वाणीहरू कालजयी छन् । जस्तो कि आध्यात्मिक चेतनामा आत्मिक चेतनाका गुरु स्वामी विवेकानन्द, गुणात्मक सञ्जालमा यस शताब्दीका शिखर राजनेता नेल्सन मण्डेला, अन्तरवैयक्तिक सीपमा कुसाग्र नीति शिल्पी विदुर, बौद्धिक प्रतिभामा ‘मिथ अफ सिसिफस’ जस्ता महान् पुस्तकका सर्जक अल्वर्ट कामु, विवेकमा जर्मन महाकवि गोथेका निख्खर वाणी छन् । ठाउँ ठाउँमा उल्लेख भएका कथानक, घटना र पात्रहरुले असल बन्न सन्देश दिएको छ ।
असलपन कहाँ चाहिन्छ त भन्ने प्रश्नमा सर्जक (क) व्यक्तिगत, (ख) व्यावसायिक, (ग) सामाजिक र (घ) संवेगात्मक क्षेत्रमा यसको आवश्यकता औँल्याउनु हुन्छ । अर्थात् व्यक्ति घर परिवार, साथीसंगाती, कार्यक्षेत्र र सोचवृत्ति सवैमा असल बन्नुपर्ने धारणा राख्नुहुन्छ । यसले जीवनका सबै आयाम आदर्श, मर्यादित र विवेकशील सक्रियतामा रहनुपर्ने कुरामा जोड दिएको छ । व्यक्तिको व्यवहार मात्र होइन, बोलाई, हेराई, बुझाई सबै अरूको मनजित्ने, सामाजिक उपयोगितामा अव्वल हुनुपर्ने आग्रह छ । जस्तो कि सर्जक उद्धरण गर्नुहुन्छ ।

‘लज्जयते च सुहृद्येन भिद्यते दुस्मना भवेत ।
वक्तव्यम् न तथा किन्चिद्यिनोदेपि च धीमता’ ।।

साथीलाई लज्जित र मन खिन्न हुने कुरा ठट्टामा पनि बुद्धिमानले बोल्नु हुँदैन, किनभने त्यसले नै शत्रतुता बढाउँछ । त्यसैले लेखक असल छिमेकी, असल साथी, असल पेसाकर्मी, असल नेता, असल नीति सवैतिर असल वा असल मानिसको बिम्ब प्रस्तुत गर्नुहुन्छ । एमी गुटम्यानले भने जस्तै असल समाजको विवेकशील निर्माणका लागि असल सोच र असल आचरणको असल मानिसको आग्रहका लागि सूत्र र सिद्धान्त दिन्छन् ।

अन्तमा नेपाली वाङमयमा एउटा असल कृति थपिएको छ । यसमा के छैन ? मिहिन गरी हेर्दा समाज, राजनीति, घरपरिवार, साथीसंगाती, विश्व परिवेश, सिद्धान्त, सूत्र, बोली, व्यवहार सबै छ । कृतिकारको परिपक्व विद्वताले यसलाई दर्शन, साहित्य, इतिहास, प्रबन्ध, व्यवस्थापन जे भन्न पनि सकिने आधार दिएको छ । यो सिर्जना हो, तर स्वेरकल्पना होइन, यो कला हो तर तथ्यलाई त्यत्तिकै बोकेको छ, यो विज्ञान हो, प्रामाणिक कुराहरू छन्, यो इतिहास हो, तर घटना लुकाइएको छैन, पात्रहरूको थोरै उपस्थिति छ । सामाजिक मूल्य आदर्श र नैतिक आचरणबाट समाज अन्यत्रै जान खोजेको, समाज निमानवीकृत हुने हो कि भन्ने सन्देह देखिएको समयमा यस कृतिले समाजलाई धेरै गुण लगाएको छ ।

–मैनाली निवास,
क्षितिज मार्ग, शंखमूल,
२०७९, श्रावण २७ जनैपूर्णिमा