अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 07:34

जनार्दन शर्माबारे छानविन गर्न गठित संसदीय विशेष समितिद्वारा अर्थ मन्त्रालयको निरीक्षण

बिआरटीनेपाल २०७९ असार २९ गते ६:५५ मा प्रकाशित

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा बिचौलिया सामेल गराएको सम्बन्धमा छानविन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयको स्थलगत निरीक्षण गरेको छ ।बुधबार अपरान्ह अर्थ मन्त्रालय पुगेर ११ सदस्यीय संसदीय विशेष समितिले त्यहाँ जडान गरिएको सिसीटिभी फुटेजको स्थलगत निरीक्षण गर्दै विस्तृत जानकारी लिएको हो ।त्यहाँको कार्यकक्षमा जडान गरिएको सिसीटिभीको संरचना, कन्ट्रोल मेकानिज्मसहितका विषयमा प्राविधिकहरूसँग जानकारी लिएर स्थलगत निरीक्षण गरिएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

उहाँले समितिका सदस्यहरूलाई अर्थ मन्त्रालयका प्राविधिकहरूले त्यसबारे आवश्यक जानकारी गराएको पनि बताउनुभयो ।यसैबीच, समितिले घटनाको सम्बन्धमा आवश्यक कागजात बिहीबार दिउँसो २ बजेभित्र समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई पत्राचार समेत गरेको छ । सो सम्बन्धमा आवश्यक कागजातसहितको प्रमाणहरू समितिलाई उपलब्ध गराउन बुधबार विहान १० बजे अर्थ मन्त्रालयलाई पत्राचार गरिएको पनि समितिले जनाएको छ ।

निःवर्तमान अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिहरू सामेल गराएर करको दर हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनु भएको थियो ।सोही घटनाको सत्यतथ्य बाहिर ल्याउन सो संसदीय विशेष छानवीन समिति गठन गरिएको थियो । समितिमा एमालेबाट प्रदिप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विश्वकर्मा रहेका छन् ।

त्यसैगरी नेपाली कांग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत रहँदा नेकपा (एकीकृत समाजवादी)की सरलाकुमारी यादव, जनता समाजवादीबाट सुरेन्द्रकुमार यादव र लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण रहेका छन् । एक हप्ता अघि अर्थात् गत असार २२ गते बुधबार गठन गरिएको सो समितिको सभापति समेत अझै चयन गरिएको छैन । कार्यविधि भने तय गरी छानवीनको कामलाई अघि बढाइएको समितिका सचिव अर्यालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू