अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४१ | Colorodo: 03:56

उषा केसीको माकुरी सार्वजनिक

बिआरटीनेपाल २०७९ असार ३ गते १९:५९ मा प्रकाशित

ललितपुर । साहित्यिक पत्रकार सङ्घको आयोजनामा ललितपुरमा भएको एक कार्यक्रममा मुक्तककार उषा केसीको दोस्रो मुक्तक सङ्ग्रह माकुरीको विमोचन भयो।

विमोचन मुक्तककार उषा केसीकी आमा माकुरी पौडेल, प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, कार्यक्रमका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोकलगायतले लोकार्पण गर्नुभएको थियो ।

स्रष्टा केसीले आफ्नी आमाको ९० औँ जन्मदिनको उपलक्ष्यमा सो कृति प्रकाशित गर्नुभएको हो। यसमा ३०३ वटा मुक्तक छन्। कार्यक्रममा स्रष्टाका आमालाई जन्मदिनको उपलक्ष्यमा अभिनन्दन गर्दै उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना पनि गरिएको थियो ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनले मुक्तकको छुट्टै पहिचानमा समस्या देखिएपछि प्रतिष्ठानले मुक्तक चतुश्पदीय शैलीमा लेखिनुपर्ने भनी एउटा मानक बनाएको बताउनुभयो ।

वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ पत्रकार राजन कार्की र समालोचक प्राडा गोविन्दमानसिंह कार्कीले समीक्षात्मक मन्तव्य राख्दै केसीका मुक्तकहरू चतुश्पदीय शैलीमा लेखिएका र तिनले राजनीतिक विकृति, देश प्रेम, माया र आमालाई विषय बनाएको बताउनुभयो।

वरिष्ठ साहित्यकार पवन आलोकले आमाप्रति समर्पित छोरीबाट हामीले पनि धेरै कुरा सिक्नुपर्ने चर्चा गर्नुभयो। यसै गरी साहित्यिक पत्रकार सङ्घका सदस्य नियात्राकार डा. दामोदर पुडासैनी र साहित्यकार मुरारि सिग्देलले पनि बोल्नुभएको उक्त कार्यक्रममा कविहरू निशा के.सी. र शान्ति शर्माले लोकार्पित कृतिबाट मुक्तकहरू वाचन गर्नुभएको थियो ।

कार्यक्रममा लेखिकाकी माता माकुरी पौडेलले फ्रेस नेपाल नामक सामाजिक संस्थाका लागि धन लोहारलाई १५ हजार ५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकारहरू रुकु कार्की, दिव्य गिरी, ललिता दोषी, विधान आचार्य, राजबाबु श्रेष्ठ सागर, ललिता दोषी, रुद्र पौडेल, रिता खत्री, राजन न्यौपाने, रूपा रिसाल, मन्दिरा मधुश्री, राधा कार्की दुलाल, जानु धिताल, विमला अधिकारी, सावित्री श्रेष्ठ, नम्रता उप्रेती, लगायत ५० जना भन्दा बढी सर्जकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू