अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३२ | Colorodo: 16:47

एकै पटक चार वटा आख्यान पुरस्कार प्रदान

बिआरटीनेपाल २०७९ जेठ ३१ गते १४:५७ मा प्रकाशित

गत जेठ २८ गते डम्बर कुमारी-गणेश कोइराला प्रतिष्ठानले नेपाल सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघर काठमाडौँको सभाकक्षमा एकै पटक चार वटा आख्यान पुरस्कार प्रदान गरेको छ ।

कार्यक्रम दुई चरणमा बाँडिएको थियो । पहिलो चरणमा प्रतिष्ठानकी अध्यक्ष तथा कार्यक्रम सभापति मन्दिरा मधुश्रीका माता पिता डम्बर कुमारी र गणेश कोइरालाको ६८ औँ विवाह उत्सवको सुखद उपलक्ष्यमा स्वयंवर शैलीमा उहाँहरू दुवैले एक अर्कालाई दुवोको माला, सिन्दूर पोते लाउने र औँठी साटासाट गर्ने कार्य भएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति माननीय डा. जगमान गुरुङबाट आख्यानकार गीता केशरी, परशु प्रधान, डा. बेन्जु शर्मा र डा. ध्रुवचन्द्र गौतमलाई पुरस्कार र प्रमाणपत्र हस्तान्तरण भयो ।

आयोजकको तर्फबाट मन्दिरा मधुश्रीबाट पुरस्कृत आख्यानकारहरूलाई दूबोको माला लगाइएको थियो । पुरस्कृत श्रष्टाको हैसियतमा डा. ध्रुवचन्द्र गौतमले “पुरस्कार दिने व्यक्ति र संस्था चोखो छ भने त्यो सहर्ष स्विकार्दै आएको छु । रुद्राक्षको माला भए पनि पुग्छ तर पुरस्कार दिनेको नियत र श्रोतमा भने विचार गरेको बताउनु भयो ।

अर्को सम्मानित र पुरस्कृत साहित्यकार डा. बेन्जु शर्माले “आजको यो फरक शैलीको कार्यक्रममा आफू सम्मानित र पुरस्कृत हुन पाएकोमा खुसी लागेको छ। डम्बर कुमारी र गणेश कोइरालाको विवाह उत्सव सहित पुरस्कार कार्यक्रम अहिलेसम्म देखेका कार्यक्रम भन्दा नौलो भएको र बेहुला बेहुलीको झल्को दिने यो कार्यक्रम फरक खालको र अनुकरणीय लागेको पनि बताउनु भयो ।

प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले -अहिले नारी जागरणको युग आएको छ। छोराहरूले गर्नुपर्ने काम छोरीबाट हुन थालेको छ।मन्दिराको आर्थिक हैसियत जेजस्तो भए पनि उनले ठुलो काम गरेकी छिन् । उनको आचरण र स्वाभिमान अतुलनीय देखिएको छ । शास्त्रमा पनि मातृदेवो भव:, पितृदेवो भव: भनिएको छ। यहाँ पनि “डम्बर कुमारी- गणेश कोइराला” भनेर आमाको नाम अगाडि भएको हुँदा यो नामकरण पनि उल्टो होइन सुल्टो नै भएको छ ।

कवि गीतकार तथा पूर्व मन्त्री एसपी कोइरालाबाट सभालाई सम्बोधन भएको थियो । वरिष्ठ कथाकार, आख्यान विभाग प्रमुख प्राज्ञ माया ठकुरीले मन्दिरा मधुश्री लेखनका साथै जन्म दिने आमा बाबुको नाममा पुरस्कार स्थापना गरेर राम्रो कार्यको थालनी गरेको र बेला बेलामा मैले सल्लाह दिने गरेको कुरा आफ्नो मन्तव्य राख्नुभयो ।

कार्यक्रममा संस्थाका सदस्य श्री कृष्ण मोहन कोइरालाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा साहित्यकारहरू हिरण्य कुमारी पाठक, लव गाउँले, पवन आलोक, दिव्य गिरी, रवि प्राञ्जल, निशा के.सी., शान्ति शर्मा, बाबा न्यौपाने, गोविन्द मानसिंह कार्की, कुमार कोइराला, मुरारि सिग्देल, श्रीओम श्रेष्ठ रोदन, प्रकाश घायल, जय छाङ्छा राई, विनोद नेपाल, रेणुका भट्टराई, शान्ति सापकोटा, प्रभा बराल, शर्मिला खड्का, श्याम प्रधान, मञ्जु पौडेल, लीला राज दाहाल, चिराग चैतन्य गोकुल अधिकारी लगायत अन्य अतिथिहरूको उपस्थिति थियो । कार्यक्रम तुलसीहरि कोइरालाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू