अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४९ | Colorodo: 01:04

मुक्तकमणि तीर्थराज अधिकारीको “पहिलो चोटि”

बिआरटीनेपाल २०७९ जेठ २१ गते १३:५७ मा प्रकाशित

काठमाण्डौं । वरिष्ठ साहित्यकार तीर्थराज अधिकारीको रचना तथा सुगम सङ्गीतका लोकप्रिय गायक राज सिग्देलको आवाजमा रहेको गजल ‘पहिलो चोटि‘को भिडियो सार्वजनिक भएको छ । सुगम सङ्गीतका चर्चित र अब्बल सङ्गीतकार राजेश थापाको सङ्गीत रहेको सो गजलमा दीक्षित पौडेलले सङ्गीत संयोजन गरेका छन् भने चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन ।

गजलको सुन्दर भिडियो पनि बनेको छ । जसको निर्देशन अनुप चापागाईँले गरेका हुन । बुद्ध थापाको छायाङ्कन, तथा विकाश दाहालको सम्पादन रहेको भिडियोमा गायक राज सिग्देल र अहिको पुस्ताकी अत्यन्तै चर्चित मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ । प्रविधिको अव्यवस्थित प्रयोगका कारण जस्तो सुकै सिर्जनाले समेत बजारमा हल्ला मच्चाइरहेको परिस्थितिमा मन भित्रबाटै सुन्न चाहने श्रोताहरूको निम्ति एक स्तरीय सिर्जना ल्याऊँ भन्ने प्रयास स्वरूप यो गजल सार्वजनिक गरिएको रचनाकार तीर्थ अधिकारीले बताए ।

नेपाली साहित्यको विभिन्न विधामा विगत लामो समय देखी कलम चलाउँदै आएका अधिकारी प्रबल गोरखा दक्षिण बाहु २०५५,मुक्तकमणि उपाधि २०७३ आदिद्वारा विभूषित भई बहु आयामिक ब्याक्तित्वका रूपमा सु परिचित छन् । उनको यस अधि नै जुनकिरी ‘कविता सङ्ग्रह ’ ऐना ‘कविता सङ्ग्रह’, तिन लय तिन गीत ‘गीति सङ्ग्रह’ झटारो ‘मुक्तक सङ्ग्रह’ माया ‘गीति एल्बम’ लगायत दर्जन कृतिहरू प्रकाशित छन् ।

शब्द, सङ्गीत, स्वर तथा भिडियो सबै पक्षबाट स्तरियतामा ध्यान दिइएको भान हुने गजल ‘पहिलो चोटी’ ले आम श्रोता दर्शकहरूको मन जित्ने विश्वास लिएको समान धारणा रचनाकार तीर्थराज अधिकारी, गायक राज सिग्देल तथा सङ्गीतकार राजेश थापाले व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया