अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 10:11

जुम्से कवि

माधव सयपत्री २०७९ जेठ २० गते १०:३८ मा प्रकाशित

हामी दम्पती आफ्नो व्यापारिकबाट भवनबाट निस्केर व्यावसायिक कामका लागि अर्को व्यापारिक कम्प्लेक्सतिर लाग्दै थियौ । हामीलाई छिट्टै त्यहाँ पुग्नु थियो, जहाँ हाम्रो करोडौँको कारोबार भइरहेको थियो । मिनेटैपिच्छे श्रीमानको मोबाइलमा रुखो घण्टी बजिरहेको थियो । मोबाइलको घण्टीले ममा एक किसिमको झिँजो ल्याएको थियो । मलाई बोलिहाल्न मन थिएन । घरीघरी श्रीमान् मेरो अनुहारमा हेरेर मुसुक्क हाँस्नुहुन्थ्यो ।

हाम्रो अत्याधुनिक कारको गति सामान्य थियो । काठमाडौँ सहरको ट्राफिक जामले वाक्कै बनाएको थियो । कतैकतै श्रीमान् कारको एक्सिलरेसन घटाउनुहुन्थ्यो । उहाँ मेरो अनुहारमा हेर्दै कारको स्टेरिङ बटार्नुहुन्थ्यो । मेरो काखमा अल्सेसियन जातको पप्पी नामको कुकुर थियो । त्यो घरीघरी मेरो अनुहार सुङ्घथ्यो र चाट्न खोज्थ्यो । काखमा लुटुपुटु गरी खेलिरहेको त्यो कुकुर मेरो सन्तान जस्तै बनेको थियो ।

त्यस्ता उन्नत जातका कुकुरहरू अरू तीन ओटा थिए घरमा । व्यापारिक कन्फरेन्समा जाँदा विदेशबाट श्रीमानले किनेर ल्याउनु भएको हो । एक प्रकारले ती हाम्रा परिवारका सदस्य थिए । अरू नोकरचाकर बाहेक चार ओटा कुकुरलाई सुसार गर्न एउटा केटा सुसारे थियो घरमा ।

भवनको द्वारतिर गाडी मोडियो । तल ओर्लिन लाग्यो । शरीरमा रगतै नभएको जस्तो एउटा जुम्से मान्छे अगाडि आयो । त्यसले चुस्स दाह्री पालेको थियो । त्यो मान्छे गाडीको सिसानजिकै देखा पर्‍यो । त्यसले आफ्नो अनुहार हँसिलो पारेर मेरो श्रीमानलाई ‘नमस्कार’ भन्यो । मलाई समेत जुम्ला हात गर्‍यो । मेरो श्रीमानले राम्ररी नमस्कार फर्काउनुभयो । तर मलाई भने त्यो जुम्सेको नमस्कार फर्काउन अप्ठेरो लागेको थियो ।

‘देख्दैमा पाखे मान्छे । अनुहार नपरेको । बालीमा राखिने स्केरक्रोजस्तो मान्छेलाई के नमस्ते फर्काउनु, नमस्कार फर्काउन पनि ‘लेभल’ त मिल्नु पर्छ नि ! बाटोमा दिनभरिमा सयौँले नमस्कार गर्लान्, के ती सबैलाई नमस्कार फर्काएर साध्ये होला ?’ नमस्कार फर्काउन पनि मैले ‘इक्वाइल लेभल’ खोजे“ । मैले उसको अनुहार हेरिरहिन । श्रीमान्ले निकै गहिरो गरी त्यसलाई हेर्नुभयो । मैले उहाँलाई गाडी छिटो कम्पाउन्डभित्र छिराउन सङ्केत गरे । तर उहाँ भने गाडीको स्टार्ट बन्द गरेर बाहिर निस्कनुभयो । दरोसँग त्यो मरञ्च्यासेसित हात मिलाउनुभयो । त्यस्तो हात मिलाइ मैले क्रान्तिकारी कम्युनिस्टहरूको मात्र देखेकी थिए । मेरो श्रीमान्ले त्यो जुम्से र मानवरूपी कङ्कालजस्तो देखिने मान्छेलाई ढाप मार्नुभयो । भन्नुभयो, ‘के छ आलोक ? अहिले कता हुनुहुन्छ ?’

श्रीमानले तर्साउनेजस्तो मान्छेलाई आदर गरी सम्बोधन गरेको सुन्दा मैले आफ्नो मानमर्दन भएको सम्झे । सोचेँ, ‘एउटा ख्यातिलब्ध व्यापारीले धन कङ्गाल मान्छेस“ग दरो गरी हात मिलाउँदा हाम्रो ख्यातिमा क्षयीकरण भएको छ । चिनेका मान्छे र आफन्तले देखे के भन्लान् !’ मेरो श्रीमानको व्यवहारप्रति मैले मनमनै खेद प्रकट गरे ।

मेरो अनुहारमा खेदकै प्रतिच्छाया देखिएको थियो सायद । मलाई अत्यन्तै बोर फिलिङ भयो । मैले कारको झ्यालबाटै टाउको निकालेर भने, ‘हैन, तपाईँ कस्तो मान्छे ? आज कत्रो काम गर्नु छ । व्यापार चौपट हुन लागिसक्यो । ‘सबै काम छाडी पुच्छरमा हात’ भनेजस्तो । छिटो हिँड्नुस् भित्र । नत्र म आफै गाडी ड्राइभ गर्छु ।’ मैले उहाँलाई चेतावनी दिए ।

सिटको मोबाइलमा पुनः घण्टी बज्यो । त्यसलाई उहाँले रिसिभ गर्नुभयो । भन्नुभयो, ‘म भवनको गेटमै छु । एक जना पुराना र आत्मीय मित्रसँग भेट भएको छ । एकै छिन है । म छिरिहाले ।’ श्रीमानका कुरा सुनेर मेरो शरीर जुरुङ्ग भयो । मन अमिलो भयो । ‘हैन, कस्तो आत्मीय मित्र रहेछ यो ? देख्दै तर्साउने भूतजस्तो ।’

मलाई मेरो श्रीमान् भन्दा पनि त्यो जुम्सेदेखि रिस उठ्यो । मनले भन्यो, ‘साला जुम्से⁄केही काम पाएनछ । मान्छेको मिनेट मिनेटको कस्तो महत्त्व छ । यो भने अलमल्याएर मर्छ ।’

भवनको गेटमा दुईबिच धेरै कुरा भए । मैले कमै सुने । अन्त्यमा बिदा हुँदा त्यसले फेरि मेरो श्रीमानसँग दरो गरी हात मिलायो । भन्यो, ‘यही जनवरी ३० मा कुण्डला थिएटरमा मेरो एकल कविता वाचन कार्यक्रम छ । यहाँको सपरिवारलाई निम्तो ।’ निम्तो दिएर त्यो जुम्से त्यो रानी पोखरीतिर लाग्यो । मलाई भने औडाह भएको थियो ।

मेरो श्रीमान् गाडीभित्र पस्नुभयो । मपट्टि फर्केर भन्नुभयो, ‘राम्रो प्रगति गरेछ साथी आलोकले । स्कुलमा पनि राम्रो प्रतिभा देखाउँथ्यो । नेचुरल गिफ्टेड जस्तो थियो । आफ्नो रुचिलाई छोडेको रहेनछ । सलाम छ आलोकलाई ! हिँडिरहने मान्छे कतै पुगेरै छाड्छ ।’

मेरो गाम्भीर्यको वास्तै नगरी श्रीमान् झन् गम्भीर कुरा गर्न थाल्नुभयो । मलाई ती कुरा बकबक जस्तै लाग्यो । मैले कसेर वचनको झापड लगाए, ‘तपाईँ कुन दुनियाँ“मा हुनुहुन्छ ? एउटा फुटपाथेलाई भेटेर तपाईँ मक्ख पर्नुभएको छ । को हो र त्यो ? त्यस्ताको सङ्गत गर्ने बेला छ ? तपाईँको हैसियतले त्यही माग्छ ?’

मेरो श्रीमानको अनुहार झनै गम्भीर देखियो । भन्नुभयो, ‘साँचो मित्रतामा हैसियतको बार लाग्न सक्दैन पूजा∕ऊ मेरो असल मित्र हो । एसएलसी दिएर छुटेपछि हाम्रो भेट भएको थिएन । ऊ नाम कमाउन थालेछ । म पैसा कमाउन थाले“ । उसलाई धेरैले चिन्छन् । ‘जनताको कवि’ भन्छन् । मलाई त मेरो सेक्टरका केहीले मात्र चिन्छन् । ‘एउटा ठुलो व्यापारी’ भन्छन् । ऊ मर्दा उसका लाखौँ“ पाठक रुन्छन् । म मर्दा केही व्यापारी र आफन्त रुन्छन् ।’

मैले उहाँलाई धेरै नफलाक्न चेतावनी दिए । भने ‘तपाईँ धेरै नबरबराउनुस् । त्यो जुम्से तपाईँको लागि असल र आत्मीय भयो ? भित्र काम कति बितिराख्या छ । छिटो गाडी चलाउनुस् । लगनको बेला कुनि के भनेजस्तो ।’

उहाँले गाडी कम्प्लेक्सभित्र छिराउनुभयो । ग्यारेजमा गाडी थन्कियो । भेटेका जतिलाई त्यो फुटपाथे आलोकको बारेमा बताउनुभयो । खुलेर उसको प्रशंसा गर्नुभयो । व्यापारीसमेत धेरैले आलोकलाई चिन्दा रहेछन् । कसैले त्यहीँ भन्यो, ‘ए कवि आलोक ? ऊ राम्रो लेख्ने कवि हो । मैले त भेटेको पनि छैन । चिनेको पनि छैन । उसलाई भेट्ने इच्छा छ । उसको कुनै सम्पर्क नम्बर छ सर ?’ उसले मेरो श्रीमानसँग आलोकको सम्पर्क नम्बर माग्यो । श्रीमानले भन्नुभयो, ‘अघि भेट हुँदा सम्पर्क नम्बर माग्नुपर्ने रहेछ । बिर्सिहाले । जनवरी ३० को उसको एकल कविता वाचनमा जा“दा लिनुपर्ला ।’

मलाई अचम्म लाग्यो । सोचे, ‘नदेखी, नचिनी, नबोली पनि राम्रो देखिइन सक्ने मान्छे कस्ता हुन्छन् ह“ ? त्यै जुम्सेजस्ता ?’ मेरो टाउको फनफनी रन्थनियो ।

त्यो जुम्से एक दिन हाम्रो घरमा देखापर्‍यो । नमस्कार गर्‍यो । मैले फर्काइन । ‘छिः हाम्रो कुकुरको सुसारेको जतिको पनि ल्वाइख्वाइ छैन । जुत्ता पनि फाटेको छ । त्यो ‘राम्रो’ लेख्ने आलोक भनाउँदो भन्दा हाम्रा नोकरचाकर निकै सफाचट छन् ।’ सोचे मात्रै । केही बोलिन म ।

श्रीमान् बाहिर आएर त्यसलाई अभिवादन गर्नुभयो । त्यसलाई बैठक कोठामै लानुभयो । चिया मगाउनुभयो । भान्सेले चिया ल्याइदियो । म भने आफ्नै कोठामा बसे । त्यता गइन । निकै बेर गफ चल्यो । बिदा हुँदा त्यसले मेरो कोठाको ढाकाबाट चियाउर मलाई फेरि नमस्कार गर्‍यो । जनवरी ३० को कविता वाचनमा मलाई पनि निम्तो दियो । अनि हाम्रो घरबाट निस्कियो ।

गाडी ग्यारेजमा राखेर हामी बेलुका चार बजे कुण्डला थिएटर छिर्‍यो । अडियन्स सिट सबै भरिएका थिए । भुईँमा पलेटी कसेर दर्शक बसेका थिए । कतै खाली ठाउँ थिएन । श्रीमान्ले मलाई तानेर कुराको सिटमा लानुभयो । हामी त्यहीँ बस्यौँ ।

त्यो जुम्से बाहिरबाट आयो । उसको अनुहार अत्यन्त उज्यालिएको थियो । उसलाई सबैले ‘नमस्ते कविज्यू⁄’ भनेर हात मिलाए । अझ ऊ सबैसँग हात मिलाउन व्यस्त थियो ।

मेरो श्रीमानले उठेर त्यसलाई नमस्कार गर्नुभयो । भन्नुभयो, ‘आज तपाईँका कविता सुन्ने अवसर पाएको छु । ज्यादै खुसी लागेको छ । लेख्दै जानुस् । एक दिन राज्यले तपाईँको योगदानको मूल्याङ्कन गर्नेछ । तपाईँ राज्यको सम्पत्ति हो ।’ अरूले पनि यस्तै यस्तै प्रशंसामा शब्द वर्षा गरे । म मूकदर्शक मात्र बनेर बसेँ ।

‘ओ हो∕जुम्से, ख्याउटे, च्याखुरे जति सबै राज्यका सम्पत्ति हुन्छन् ∕ हामी राज्यको अर्थतन्त्र टिकाउनखातिर लगानी गर्नेेचा“हि राज्यको सम्पत्ति नहुने । मरन्च्याँसे र फुकीढलचा“हि राज्यको सम्पत्ति हुने ∕’ मलाई सियोले घोचेजस्तो भो । मभित्र दरो प्रहेलिका उब्जियो ।

त्यो ‘राम्रो कवि’ को कविता वाचन सुरु भयो । अचम्म ⁄ त्यसका शब्दले सबै जुरुकजुरुक भए । शब्दमा, बोलीमा, प्रस्तुतिमा सपेराको सर्प लट्ठ्याउनेजस्तै जादु थियो । बरु पानीको धारो टुट्ला, उसको शब्द धारा कतै टुटेन । त्यसले कतै कापी पनि हेरेको पनि थिएन । कहाँबाट ओइरिन्छ शब्द वर्षा लगातार ? मलाई त अचम्मै लाग्यो ।

लगातारको दुई घण्टाको शब्द वर्षापछि त्यो रोकियो । वरिष्ठ कवि शङ्करले वाचित कवितामाथि टिप्पणी गरे । उनले भने, ‘कवि आलोक समकालीन नेपाली कविताका प्रतिनिधि कवि हुनुहुन्छ । गाउँमै बसेर पनि उहाँले राजधानीलाई झट्का दिइरहनुभएको छ । एक किसिमले हस्तक्षेपै गर्नुभएको छ । कवि आलोक बधाईका पात्र हुनुहुन्छ ।’

म दिग्म्रमित भएँ । के हो, के होइन जस्तो लाग्न थाल्यो । कवि शङ्करको टिप्पणी सुन्दा जुम्सेप्रतिको मेरो दृष्टिकोण एक छिनमा बदलियो । लाग्न थाल्यो– मेरो श्रीमान् पनि जुम्से भैदिए हुन्थ्यो । गाडी, बङ्गला, व्यापार, नाफा सबै हराइदिएर जुम्सेमा परिणत भैदिए हुन्थ्यो । अहो ∕सुटटाई, ब्रिफकेस, मोबाइल, कम्प्युटर, ल्यापटप, कार, बङ्गला, ब्यांकब्यालेन्स, व्यापारभन्दा पनि ‘राम्रो’ चिज त अर्कै रहेछ ।’

मैले मनमनले त्यो जुम्सेलाई मेरो श्रीमान्मा आरोपण गरे । कुण्डला थिएटरबाट बाहिरिँदा मेरा गोडा अगाडि बढ्नै मानेका थिएनन् । फर्केर हेरेँ । कवि आलोक उसका समकालीन कवि मित्रहरूसँग अंकमाल गर्दैथियो । श्रीमान्ले मलाई हातमा समातेर तान्नुभयो तर मलाई उतै भित्र मात्र हेरिरहन मन लागेको थियो ।

RE-POST

प्रतिक्रिया