अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३४ | Colorodo: 12:49

एक अब्बल निबन्धकृति: ‘ब्याक बेन्चर’

माधव सयपत्री २०७७ कार्तिक ६ गते १२:०१ मा प्रकाशित

पुस्तक समीक्षा

पर्न त मलाई निबन्ध अग्घोरै मन पर्छ । तर शब्दहरूलाई बान्कीमा बाँधेर ‘राम्रो’ निबन्ध लेख्न सकिएको छैन । लेखियो, लहडै लहडमा काम चलाऊ मात्रै । तिनले आफैलाई सन्तुष्टि दिएनन् । आज लेख्यो, एक महिनापछि पुरानु भइहाल्ने के निबन्ध लेख्नु ! सधैँ तरुनो बस्ने निबन्ध विधालाई किन बिटुल्याउनु !

सम्झना छैन सुरुमा कुन निबन्ध पढिएको थियो । अलिअलि निबन्धमा रस बस्न थालेपछि पढिएको चैँ ‘लक्ष्मी निबन्ध सङ्ग्रह’ थियो । त्यसपछि ‘एब्स्ट्रयाक: चिन्तन प्याज’ । बिचमा निबन्धका कुन कुन किताब पढिए, ठ्याक्कै नाम सम्झनामा छैनन् ।

साठीको दशकमा नेपाली साहित्यमा निकै राम्रा निबन्ध आए । मैले पढेका मध्ये गोविन्द वर्तमानका ‘हरियो साइकल’ र ‘सोह्र साँझ’, नारायण ढकालको ‘शोकमग्न यात्री’, खगेन्द्र सङ्ग्रौलाको ‘फुल–पात–पतकर’, भूपिनको ‘चौबीस रिल’, कुमारी लामाको ‘उज्यालो अन्धकार’, रोशन शेरचनको ‘धोबिघाट एक्सप्रेस’, सङ्गीत आयामको ‘दासहरूको कुम्भमेला,’ युवराज नयाँघरेको ‘एक हातको ताली’, अभि सुवेदीको ‘निबन्ध र टुँडिखेल’, विचार, शैली, बनोट, बुनोट, आयामका हिसाबले सदाबहार कृति भएका मेरो ठहर छ ।

त्यस्तै साठी यताकै निबन्धमा, शैली र निजत्व (आत्मपरकता) का हिसाबले रजनी ढकालको ‘हत्केलामा असार उमारेर’, भीष्म उप्रेतीको ‘हतार छ हतार छैन’, अनिल पौडेलको ‘अतीतको बिस्कुन’, जीवनाथ धमलाको ‘अक्षरको बिस्कुन’, टङ्क उप्रेतीको ‘खण्डित सपनाको गीत’, र माधव काफ्लेको ‘लिगलिग कोट’ ले पनि मन तानेकै हुन् ।

हालसाल पाठकको दिमाग रन्काउने र बजारै तताउने खालको निबन्ध पुस्तक आएजस्तो लाग्दैन । मैले फेला नपारेको वा नपढेको पनि हुनसक्छ । अहिले भने म कवि तथा निबन्धकार पेशल आचार्यको निबन्ध कृति ‘ब्याक बेन्चर’ का लाइन लाइन अन्डरलाइन गर्दै पढ्न बसेको छु –‘कमोडिटी मार्केटका अनलाइन सपिङ गुड्स् बनेका प्रेमिल किताबहरूमा साइबर सेक्स र पन्याला प्रेमका तिरिमिरी त भेटिएलान् तर दुःखका कहिरन र सकस भेट्नै गाह्रो ।’ (पेज– २१५, कट्फर जिन्दगी)

यस्तै यस्तै अनेक बिम्व–प्रतीकले छपक्क ढाकेका २९ वटा आत्मपरक निबन्धहरूको पुस्तक हो, ‘ब्याक बेन्चर’ । निबन्धमा उनी कहिले अति जटिल बन्छन्, कहिले अत्यन्त सरल । आचार्यको निबन्ध लेखनीको सिप यस कृतिमा देख्न सकिन्छ ।

लेखनीका आ–आफ्नै तौरतरिका हुन्छन् । शिल्प–शैली हुन्छन् । बनोट–बुनोट हुन्छन् । यहाँ पनि आचार्यको आफ्नै शैली बिम्बित भएको छ । निबन्धलाई उनले निकै मिहेनत गरी शब्दको जलप लगाएर टल्काएका छन् । पेशल आचार्यको निबन्ध लेखनी–विशेषताबारे अर्का निबन्धकार रमेश घिमिरे लेख्छन्– ‘मूलतः आचार्य व्यास शैली र पुनर्पुष्टिमय तौर तरिकामा आफ्ना विविध अनुभूतिहरू पस्कन रुचाउने उम्दा निबन्धकार हुन् । यिनी समकालीन निबन्ध लेखकहरूका तुलनामा विषय वैविध्यता, प्रस्तुति र शैलीमा नूतनता प्रदान गर्ने निबन्धकार समेत हुन् । यिनका निबन्धले थाहै नदिई जीवन गीता, दर्शन, समाज, भोगाइ, प्रेम, यौन, कर्तव्य, राजनीति र भविष्यलाई आफ्ना निबन्धमार्फत सुटुक्क पाठकलाई रसपान गराउन सामर्थ्य राख्छन् । यही नै यिनको मूल विशेषता हो ।’

‘ब्याक बेन्चर’ मा राजनीतिको विकृत रूप आएको छ । कुण्ठाग्रस्त मानव मनस्थिति आएको छ । कर्पोरेट बजारमा आफ्ना मूल्यमान्यता लिलाम गरिरहेको समाज/व्यक्तिको चित्र आएको छ । अभाव र तनावका अनेक किस्सा निबन्धको बाटो भएर निःसृत भएका छन् । लाग्छ, निबन्धमा आउन बाँकी केही छैन ।

पहिलो निबन्ध ‘चोर घाम’ मा –‘शिशु प्रजातन्त्र यहाँ कति पटक यशुझै क्रसमा टाँगिइसक्यो ।’ रमरम व्यङ्ग्य मिसिएको यस निबन्धमा ‘देशमा चोर घाम होइन, सुनको बिहानी भनिने लोकतन्त्रको घाम लागोस्’ भन्ने निबन्धकारको कामना छ । बच्चा हुर्काउने काम झन्झटिलो भए पनि पछिको आशाले झन्झटलाई ‘मीठो’ मान्नु परेको छ । पूर्वार्धको झन्झट मिठो झन्झट र उत्तरार्द्धको झन्झट तीतो झन्झट भएको ठहर गरेको छ– ‘मीठो झन्झट’ निबन्धले ।

‘दुःख आफै दुख्ने गर्छ’ निबन्ध बोल्छ– कुकुर पहिले जुध्छ, पछि मिल्छ । मान्छे पहिले मिल्छ पछि जुध्छ । मान्छे र कुकुरमा यति फरक छ । के हामीमा कुकुरको जति पनि विवेक छैन ? हामी सबै दुःखको सागरमा छौँ । यो देखेर दुःख आफै दुखित छ । ‘अक्षरहरूको बिस्कुन’ मा अक्षरकै पवटा र भुस निस्किन्छ । अक्षरकै मृगतृष्णामा केटाकेटीमा चलाएका ‘क्यापिटल कापी’ र ‘धर्के डटपेन’को याद आइरहन्छ ।

‘नाइँ’ भन्नेहरूले नै प्रगति गरेका छन् । ‘नाइँ भनौँ’ निबन्धमा निबन्धकार प्राश्निक बन्न प्रेरणा दिन्छन् । हेर्नुस् त, केटाकेटीको प्रश्नमा कुनै सीमा हुन्छ ? ‘गुरु अनि गोरु हुन्छ’ निबन्धमा भाँडा माझ्ने केटा र बुद्धिजीवीको प्रश्नोत्तर बहुत रुचिकर लाग्छ । दस वर्ष पढाएपछि एउटा गुरु गोरु हुन्छ– सायद थाकेर । लोथ भएर ।

दुई नभई द्वन्द्व नहुने विज्ञानले पुष्टि गरेकै कुरा छ– ‘दुई र द्वन्द्वमा’ । द्वन्द्वले नै हरेक वस्तु र व्यक्तिमा गति दिने हो । कपुरी ‘क’ कम्प्युटर ‘क’ भइसक्यो । शिक्षा व्यापार भयो । शिक्षक व्यापारी भए । तरै पनि शिक्षक अपडेटेट हुनै पर्छ । विधि मात्र हैत्र हैन प्रविधि नजानेको शिक्षक अब आउटडेटेट भइसक्यो– ‘कपुरी क’ निबन्धमा ।

शब्दहरू वाचाल भएका छन् । आफै बोल्छन् । पाहुना शब्दले नेपाली रैथाने शब्द धरापमा छन् । भाषा जोगाउन वक्ता जोगाउनु पर्ने भाषातात्विक दर्शन बोल्छ –‘शब्दका पछाडि पछाडि’ निबन्धले । ‘असत्यमेव जयते’ निबन्धमा सत्य ओझेलमा छ । असत्य आँगन ताण्डव नृत्यमा मग्न छ । सत्यको खोजीमा सतत् लाग्नुपर्ने ठहर निबन्धकारको छ ।

राजनीति र कपर्दी खेल उस्तै हो । राजनीति लुगा लगाएर नाङ्गो हुने व्यसन हो । पीँधका मान्छेहरू लिलाम बिक्रीमा छन् । नङ्ग्याइँदै गरेकी द्रौपदीको लाज ढाक्न नसकेर कृष्णहरू किंकर्तव्यविमूढ छन्, निबन्ध –‘भुईँ मान्छे’ मा । ‘सम्भावनाको जुलुस’ मा कल्पनाको उडान छ । सम्भावना सधैँ जीवित रहन्छ । निबन्धकारको प्रश्न छ, ‘उत्तरतिर हिमाल हुँदा के भएको छ र दक्षिणतिर भएको भए के हुन्थ्यो ?’ हो नि ! दक्षिणमा हिमाल भएको भए के फरक पर्थ्यो र !

भूकम्पको त्रासदी र राहत वितरणको विद्रुप रूप ‘पानी अङ्कल’ निबन्धले देखाएको छ । शैशवकालका प्रतिस्पर्धी (सुविद गुरागाईँ र गोविन्द बुइपाली) छुटेर आफैनै गोरख धन्दामा व्यस्त छन् । राम्रो काम गर्नेको –सुनाम, नराम्रो गर्नेको– कुनाम भए राम्रो र नराम्रोको बिचको गर्नेको के नाम ? भनेर प्रश्न गर्छन्– ‘भार्या चिन्तन’ मा । नबोलेरै उत्तर दिने रमण महर्षिको चर्चाले निबन्धलाई अझै ओजपूर्ण बनाएको छ । निबन्धकार भार्याको शक्ति र सहनशीलतालाई सलाम गर्छन् ।

‘यहाँ सेलफोनमा मात्रै होइन, मनका नेटवर्कहरूमा समेत कल बाइपास गरिन थालेको छ ।’ वाह ! क्या वक्र व्यङ्ग्य छ यसमा ! जीवनको परिभाषा पर्गेल्दैमा ‘जीवनहरू’ हैरान छन् । संसारमा कसैले केही नयाँ काम गरेकै छैन । केवल दाल, भात, डुकुमै उछिनपाछिन छ । सनातन छ– ‘दाल, भात, डुकु’ ।

आफू अनुकूल देशलाई टुक्राटुक्रा सलाद बनाएको कसरी बिर्सनु ! ‘सलाद बनाइँदै छ देश’ मा । वि. सं. २०७१ भदौमा मन्थलीमा गरिएको छन्द लेखन प्रयोगशालामा उपस्थित छन्द गुरु देवी नेपाल र अन्यलाई सम्झन्छन् निबन्धकार । दिनेश अधिकारीको कविताबाट सुरु हुन्छ– ‘सम्पादकको मृत्यु’ । सम्पादकको सौता बनेको छ, गुगल । सम्पादक खल्तीमा राजीनामा बोकेर हिँड्छ रे ! कठै बिचरा ! राजनीति धरहरा चढ्ने खेल भएको तर्क छ लेखकको । अगाडि जानेले तला चढिसकेपछि भर्याङ तल झारिदिन्छ । प्रतिस्पर्धी हेरेको हेर्यै ।

शीर्षक निबन्ध हो– ‘ब्याक बेन्चर’ । कक्षामा ‘ब्याक बेन्चरहरू’ अन्यान्य पेसामा ‘फ्रन्ट बेन्चर’ पनि भएका छन् । क्रोचे, पाइथागोरस, आइन्सटाइन र चार्ली च्याप्लिन ब्याक बेन्चर भएर पनि कीर्तिमानी बनेका छन् । ब्याक बेन्चर भएर के भो ! ऊ हिँडिरहन्छ र यात्रा तय गर्छ ।

व्यवहार सबैभन्दा ठुलो विश्वविद्यालय भएको तर्क छ ‘व्यवहार विश्वविद्यालय’ मा निबन्धकारको । गाउँलेहरू बाख्रा बेचेर मोबाइल किन्छन् रे अनि अण्डा बेचेर रिचार्ज । क्या मिठो कुरा ! रुसोले ‘प्रकृतितिर फर्क’ भन्नु पनि व्यवहारवाद नै हो ।

दुनियाँ हाडे ओखर जस्तो छ । विदित जस्तो देखिए पनि भित्र पसेपछि अविदित । ‘आँखाको गुराँस र हत्केलाको सुनगाभा’ को कवितांश ‘म आफ्नो देशको पहरामा हुन्छु । म आप्mनो देशको छहरामा हुन्छु ।’ लेख्दाको प्रसङ्ग बताएका छन्– कवि मोहन हिमांशु थापाले ।

‘कीर्तिपुरे जुत्ता’ले त्रि वि र कीर्तिपुर आउजाउको स्मृतिमा लैजान्छ । जगदीश घिमिरेको घरनजिक पुग्दा लेखकलाई आफ्नो घर पुगेको अनुभव हुन्छ । वास्तवमा जगदीश घिमिरे नेपाली साहित्यका एक भर लाग्दा अभिभावक हुन् नि ! लगातार बाह्र वर्ष कीर्तिपुरे जुत्ता लगाएपछि लेखकलाई जीवन किस्ता किस्तामा बाँचेझै बुझाइ पनि किस्ता किस्तामा हुने बोध भएको छ ।

‘तथागत र नन्दी भृङ्गी विषयगत र कामाभिमुख भएर मुस्कानका लहर लहरमा पौरिँदै–तैरिँदै नाद र नखराको त्रुटि विश्लेषण गर्दै पूर्णाङ्की र एकाङ्की समस्याहरूका साथमा आलोडित हुँदै सगुनका साइपाटाहरू लिएर आउँछन् ।’– ‘शम्भवामी युगेयुगे’ मा । मानिसमा दर्शनको ह्रास भएको छ । वृत्तमा घुम्ने बानी परेका छौँ हामी । वृतमा घुम्दा कहीँ पनि पुगिन्न । गान्धी र गन्ध, मण्डेला र मण्डलेमा पार्थक्य खोज्छन् लेखक । युगयुगसम्म खोजिरहनुपर्छ । खोज्नेले नै नयाँ वस्तु फेला पार्ने हो ।

‘भाव, अभाव र प्रभाव’ मा संसारलाई चलायमान गराउने तीव्र साधन देख्छन् लेखक –पावर, मनी र सेक्स । भाव, अभाव र प्रभावबाटै मानिस ‘मानव’ बन्न सक्ने ठहर छ –उनको । ‘आमाको लज र बाको होटेर फ्री हुन्जेल मानिस खुसी र सुखी दुवै हुन्छ’ रे । यसै भन्छ– ‘समय बालापन फर्काइदे !’ निबन्धले । कति गहिरो कुरा छ यो ! लाफिङ क्लबले हाँस्न सिकाउने भए मानिसका आँसुले किन लेखिन्थे वियोगान्त काव्य र आख्यानका ठेली ! साँच्ची, समयले चामल जति आफूलाई राखेर पवटा जति हामीलाई दिइएकै हो त !

‘स्वाभिमानको शोक गीत’ बज्दैछ, मल्टिनेसनल कर्पोरेसन र कर्पोरेट हाउसमा । विकृत राजनीतिले जनतालाई ‘वस्तु’मा परिणत गरिदिएको छ । बजारवादको दुन्दुभी बजिरहेको छ । ‘जीवले के सिकायो ?’ खै, जिन्दगी के सिक्यो स्वार्थबेगर ! बोराको पहिरन पहिरेर एक मानिस आप्mनो झुपडीअगाडि उभिएको छ । गृह मन्त्रालय भन्छ– ‘शीतलहरमा आगो ताप ।’ जाडोमा आगो ताप्ने कुरा सरकारले भन्नु पर्छ र ! आखिर जीवन के चाहन्छ, बुढ्यौलीसम्म जीवन बाँचेकाहरूलाई पनि थाह छैन । ‘जीवनमा यक्ष प्रश्न धेरैले गरे होलान्, तर यक्षोत्तर कसले दिएको छ, हँ !’

‘कट्फर संस्कार’ निबन्धमा देश आयात र निर्यातको चक्रमा फसेको यथार्थ ओकल्छन् निबन्धकार । ‘अतिथि देवो भवः’ को सांस्कारिक व्याकरण खिइएर कुरूप भएको छ । अन्तिम निबन्ध– ‘रित्तो गुँड र चरा नियति’ मा मानिस जीवनरूपी गोरख धन्दामा चरा नियति भोग्दै छ । आफू खाई नखाई बचेरा–सन्तान हुर्कायो, हुर्केपछि बचेरा उडेर जाइजान्छन् । आखिर गुँड रित्तै ।

निबन्धकार कतैकतै अनियन्त्रित भएर बहकिन पनि पुगेका छन् । यस्तो बहकाइले पाठकलाई खल्लो पनि लाग्छ । तत्सम शब्दको भरमार प्रयोगले निबन्धहरू रसिला भएका छन् नै, साथै दुर्बोध्य पनि । आगन्तुक–अङ्ग्रेजी शब्दको बढी प्रयोग हुँदा केही निबन्ध हल्का पो भए कि ! पाब्लो पिकासो हुन् कि लियोनार्दो, बुद्ध हुन् कि महावीर जस्ता वाक्यांशहरू पटक पटक दोहोरिँदा पाठक अलमलमा पर्छ । केही शब्दहरू अत्यधिक दोहोरिएका छन् । जस्तै, अहर्निष, निर्निमेष, गोरखधन्दा आदि ।

नेपाली निबन्ध साहित्यमा सयौँसयौँ पुस्तक आए होलान् । पाठकको आँखामा कुनै अब्बल ठहरिए, कुनै दोयम । सीम र चाहार पनि होलान् । तिनले निबन्ध विधालाई समृद्ध बनाए पक्कै । पेशल आचार्यकृत निबन्ध सङ्ग्रह ‘ब्याक बेन्चर’ (२०७६) नेपाली निबन्ध साहित्यको अब्बल कृति हो, दोयम होइन । सीम र चाहार त झन् हुँदै होइन । मेरो मनको इजलासले गरेको फैसला हो यो । पठनमा फैसला आफ्नो आफ्नो हुन्छ नि !

प्रतिक्रिया