अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:२९ | Colorodo: 12:44

नगेन आर्ट एकेडेमीमा राष्ट्रिय कला प्रदर्शनीको समीक्षा तथा पुस्तक विमोचन

बिआरटीनेपाल २०७९ जेठ १६ गते १७:०० मा प्रकाशित

पोखरा । नगेन आर्ट एकेडेमीको आयोजना र गण्डकी प्रज्ञा प्रतिष्ठानको सहकार्यमा नेशनल फाईनआर्ट प्रदर्शनीको समीक्षा तथा सूचि पुस्तक विमोचन कार्यक्रम घामपानी मार्केट चिप्लेढुङ्गामा रहेको एकेडेमीकै हलमा सम्पन्न भएको छ ।

प्रर्दशनीमा सात प्रदेशका १४ जिल्लाका ५१ जना कलाकारका १०१ कलाकृति रहेका थिए । नेपाल नाटक तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले दिनभर साहित्य र सङ्गीतको ३/४ वटा कार्यक्रममा गएर थाकेर आएको समयमा चित्रकला हेर्दा दिनभरको थकान मेटिएको बताउँदै वरिष्ठ कलाकारदेखि बाल कलाकारहरू सबैको चित्रकला एकै ठाउँमा हेर्न पाउँदा रमाइलो लागेको बताउनु भयो । उहाँले अभावका बाबजुद पनि गरिएको यो कार्यक्रम प्रशंसनीय रहेको बताउँदै नवोदित कलाकारहरुलाई पनि समेटेर कार्यक्रम गरेर उनीहरूलाई ठाउँ दिएर उनीहरूलाई हौसला प्रदान गरेको बताउनुभयो । राजधानी बाहिर केही गर्ने उद्देश्यले खोलिएको नगेन आर्ट एकेडेमीको सफलताको कामना गर्दै पोखरामा अरू विधाका कार्यक्रमहरू भइरहको चित्रकलाको पनि यो बनेको देख्दा खुसी लागेको बताउनु भयो ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङले शान्ति, पर्यटन र कला प्रवर्द्धनको निरन्तर लागिरहेको नगेन आर्ट एकेडेमीको सफलताको कामना गर्दै चित्रकला प्रदशनीमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

नेपाल ललितकला एकेडेमीका प्राज्ञ तथा पूर्व सभासद् नगेन सिंहले कलाकार राष्ट्रका गहना होइनन् अभिन्न अङ्गका रूपमा घोषणा गर्नुपर्ने माग राख्दै प्रत्येक सरकारी स्कुलमा कला शिक्षा, प्रत्येक नगरपालिका तथा गाउँपालिकामा कला विभाग हुनुपर्ने लगायतका मागहरू राख्नु भयो ।

पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलले अरू साहित्यको कार्यक्रमहरू भई रहने तर चित्रकलाको कार्यक्रम कम हुने गरेको थियो अब चाँहि भई रहने आशा व्यक्त गर्नु भयो ।

पत्रकार उदय बहादुर अमात्यले नगेन आर्ट एकेडेमीको सफलताको कामना गर्दै यस एकेडेमीले सक्षम कलाकार उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कला शिक्षक सुरेन्द्रराज अधिकारीले यस एकेडेमीले कला विकासमा सहयोग पुग्ने आशा व्यक्त गर्दै पोखराको कला जगतमा नयाँ आयाम थप्ने बताउनुभयो । उहाँले यस्ता प्रदर्शनीले कला विकास र कला सिर्जना गर्न हौसला प्रदान गर्ने बताउदैं समीक्षाबाट कला विकासमा सहयोग पुग्ने बताउनु भयो ।

कार्यक्रमका संयोजक प्रमिशा सिलवालले पोखरा पर्यटकीय सहर भएकोले कलाको प्रर्बधन र विकास हुनु जरुरी रहेको बताउँदै त्यसको लागि यस्ता कला प्रदर्शनीहरूको आवश्यकता रहेको बताउनु भयो । उहाँले आगामी दिनहरूमा पनि यस्ता कला प्रर्दशनीहरुको आयोजना गर्ने बताउनु भयो ।

सहभागी कलाकारको तर्फबाट आयुस बाटाजुले आफ्नो कला प्रर्दशनीमा जोडिन पाउँदा खुसी लागेको बताउदैं आफुँ जस्तो युवा कलाकारहरुलाई पनि समेटेको कारण आँफुमा हौसला पाएको बताउनु भयो ।

अभिभावक तर्फबाट रिमा श्रेष्ठले आफ्नो बच्चाले चित्रकला सिक्न खोजेको धेरै समय भइसकेको थियो तर ठाउँ नपाएर भौँतारिनु परेको थियो त्यसैले आफैँले पनि यो एकेडेमीको बारेमा सबैलाई भन्ने गरेको बताउनु भयो ।

नगेन न्युज पब्लिकेशन प्रा.ली.का अध्यक्ष ज्योति हमालले राज्यले कला तथा कलाकारको सम्मान गर्न नसकेका कारण नेपालबाट कलाकार पलायन हुने अवस्था आएको र पोखरामा कलाको एकेडेमी खोलेर दक्ष कलाकार उत्पादन गर्ने उद्देश्यले नगेन आर्ट एकेडेमी सञ्चालनमा ल्याइएको बताउँदै विकसित देशहरूमा प्रत्येक वडामा आर्ट सेन्टर हुन्छ भन्छन् तर नेपालमा न त आर्ट सेन्टर छ न त आर्ट ग्यालरी नै नभएका कारण चित्रकला प्रर्दशनीमा नै समस्या भएको बताउँदै अब नगेन आर्ट एकेडेमीले कलाकारले सिर्जना गरेको कला अब कहाँ प्रदर्शनी गर्ने भनेर भौँतारिनु नपर्ने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नु भयो । हमालले वडामा त के कुरा यहाँ त महानगरमा पनि आर्टको, कलाको केही छैन र चित्रकला, नाटक, गीत सङ्गीत लगायतका कलालाई उपेक्षा गरेर देश समाजको विकास हुन सक्दैन त्यस कारण कला सबैले बुझ्नु पर्ने बताउनु भयो ।

प्रर्दशनीमा बाँके, सुर्खेत, जुम्ला, दाङ, कैलाली, कास्की, सल्यान, स्याङ्जा, बागलुङ, गोर्खा, सुनसरी, सर्लाही,बर्दिया र काठमाडौँ जिल्लाका सागर क्षेत्री, विक्रम शिशिर, आर्यन ढकाल, दीपक नेपाली, रोहित थारु, उषा सुबेदी, निशान्त लम्साल, सञ्जित विष्ट, हुदिप अँसुचन्द, धनराज थारु, याँञ्सु आचार्य, शैलेश थापा, खुश्बु विष्ट, अशवन कोइराला, दीपक चन्द, जे.बी आउजी, विवेक नेपाली, दिव्या गौतम, निशान्त लम्साल, कमल खत्री, उर्मिला थापा, भैभव विक्रम चन्द, सौगात सवित, आयुश्मा ढकाल, अनुष्का ढकाल, अलिता गुरुङ, सुबान्त पौडेल, आयुस बाटाजु, पदम घले, सानिका पौडेल, लोक प्रसाद गुरुङ, सुरज सुबेदी, उमङ्ग एस, परु अधिकारी, हेमकान्ती गुरुङ, ज्योति गुरुङ, बुद्धि गुरुङ, आरोन बाबु लिगल, ज्योत्सना विश्वकर्मा, जुलियाना सुनुवार, प्रियङ्का गुरुङ, शिला थापा मगर, विजय गुरुङ, आशिष् अधिकारी, रमेश खनाल, गोपी श्रेष्ठ, किरण मानन्धर, नज्योशा सिंह ठकुरी, ज्योनशा सिंह ठकुरी, एस.पी. नेपाल, रक्षा नेपाली, अमृत अधिकारी र प्राज्ञ नगेन सिंहको कलाकृतिहरुको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू