अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

श्रीमतीको हत्या गर्ने पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय छुटको फैसला उल्टियो, २० वर्ष नै जेल बस्नुपर्ने

बिआरटीनेपाल २०७९ जेठ १२ गते ८:४७ मा प्रकाशित

सर्वोच्च अदालतले सशस्त्र प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) रञ्जन कोइरालाको कैद सजायमा छुट दिने आफ्नै फैसला उल्टाएको छ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, टंक मोक्तान र कुमार चुडालको इजलासले सर्वोच्चले यसअघि कर्तव्य ज्यान मुद्दामा कोइरालाको कैद सजाय घटाएर आठ वर्ष कायम गरेको फैसला उल्टाएको हो । आज बिहीवारको फैसलामा जानाजान श्रीमतीको हत्या गरेको पुष्टि भइसकेकाले कोइरालालाई जन्मकैदको सजायमा सहुलियत दिन नसकिने उल्लेख छ ।

यसअघि २०७७ सालको असारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणासहितको संयुक्त इजलासले कोइरालाको जन्मकैदको सजाय घटाएर साढे आठ वर्षको हुने फैसला गरेको थियो । त्यसपछि कोइराला रिहा भइसकेका थिए । त्याे फैसलाको विरुद्धमा मृतक गीता ढकालका बुबाले निवेदन दिनुभएको थियो ।

कोइरालाले २०६८ सालमा श्रीमतीको हत्या गरेर बोरामा पोको पारेर मकवानपुरको टिस्टुङ जङ्गलमा लगेर पेट्रोल छर्केर जलाएको अनुसन्धानबाट पुष्टि भएको थियो । तर कोइरालाले रिसको आवेगमा धकेल्दा श्रीमतीको हत्या भएको बयान दिएको भन्दै तत्कालीन प्रधानन्यायाधीश राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कैद सजाय घटाउने फैसला गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू