अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

साइकलमा २४० माइल ‘लन्डन टु पेरिस’ यात्रा गर्दै अभिनेता जोशी

बिआरटीनेपाल २०७९ जेठ ६ गते १२:५९ मा प्रकाशित

काठमाडौँ, अभिनेता,निर्माता विक्रम डी जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गर्ने भएका छन् । ‘ह्याप्पी डेज’,‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’ फिल्मका नायक जोशीले धुलिखेलमा हेल्प नेपाल नेटवर्कले सञ्चालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना नेपाली साथीहरूका साथ आगामी शुक्रवार अर्थात् २० ममा ‘लन्डन टु पेरिस च्यारिटी राइड’ गर्न लागेका हुन् ।

साइकल यात्रा टिममा जोशीसहित सुलभ पन्त,सुशील प्रसाईं,मनोज श्रेष्ठ,प्रसिद्ध प्रधान,सुनिल कार्की र लक्ष्मण गुरुङ छन् । उनीहरूले शुक्रवार लन्डनको लन्डन ब्रिजबाट यात्रा सुरु गरेर लगातार तीन दिन साइकिलिङ्ग गर्दै २२ मेमा पेरिसको इफेल टावर पुग्ने लक्ष्य लिएका छन् । ‘हामीहरूको म्यानुअल साइकल (पाइडल घुमाउँदै) मार्फत लन्डनबाट पेरिस पुग्ने प्लान छ,’ अभिनेता जोशी भन्छन्, ‘साइकलमा यति लामो दुरी तय गर्ने प्रयास सायद पहिलोचोटी हुदैछ ।’ उनले यो यात्राका लागि तीन साताअघिदेखि मात्रै तयारी गरेका हुन् । उनका साथीहरूले भने यो यात्राबारे चार वर्षअघिदेखि योजना बनाएका रहेछन् । ‘उहाँहरूले पहिला देखिनै प्लान बनाएको भए तापनि अहिले आएर बल्ल साकार हुन लागेको छ,’ अभिनेता जोशीले भने,‘यात्राका लागि म करिब तीन साता यता दैनिक चार पाँच घण्टा साइकल कुदाइ रहेको छु ।’ लामो समयदेखि नियमित एक्सरसाइज गर्दै आइ रहेकाले छोटो समयको तयारीले पनि आफूलाई पूर्ण सफलता दिने विश्वास उनको छ ।

साइकल यात्राका क्रममा लाग्ने सम्पूर्ण खर्च साइकल यात्रीहरू स्वयम्ले नै बेहोर्ने टिमको निर्णय छ । लन्डनदेखि पेरिस यात्रामा बिचमा पर्ने समुन्द्रमा भने उनीहरू पानी जहाजमा यात्रा गर्नेछन् ।

उलवीच अर्सेनल राइडर्स क्लब (डब्लुएआरसी) र नेपाल यूथ एसोसिएसन युकेको आयोजनामा हुने साइकल यात्राबाट आफूहरूले कम्तीमा ५ हजार पाउन्ड (करिब पौने ८ लाख रु) सङ्कलन गर्ने लक्ष्य लिएको उनले बताए । उनले यो अभियान सुरु भएदेखि विभिन्न देशबाट ९८ जनाले करिब ३ हजार पाउन्ड सहयोग गरिसकेको बताउँदै जोकोहीले पनि जस्ट गिभिङ डटकम नामक अनलाइनमार्फत रकम सहयोग गर्न सक्ने जानकारी दिएका छन् । अनाथ बालबालिकाका लागि विश्वभरबाट माया,साथ,सहयोग र हौसला दिनुहुन उनले सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया