अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२४ | Colorodo: 10:39

निर्मला मुरारी खनाललाई दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान

बिआरटीनेपाल २०७९ वैशाख ९ गते २१:५५ मा प्रकाशित

काठमाडौँ  । नेपाल स्रष्टा समाजबाट बर्सेनि प्रदान गरिने दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान यस वर्षका लागि काठमाडौँ मुलपानीकी साहित्यकार तथा शैक्षिक अभियन्ता निर्मला मुरारी खनाललाई प्रदान गरिएको छ । निज खनालले अध्ययन गर्नुभएको विद्यालय श्री राष्ट्रिय निर्माण माध्यमिक विद्यालयमै गएर विद्यालयका प्राध्यापक, अभिभावक तथा विद्यार्थीहरूका बिचका सो सम्मान प्रदान गरिएको हो ।

निरन्तर साहित्य र समाजसेवामा लागिपरे तापनि ओझेलमा परेका व्यक्तिलाई अर्पण गरिने सो सम्मानका निमित्त नेपाल स्रष्टा समाजलाई धन्यवाद दिँदै साहित्यकार खनालले आफ्नो घर आँगनमै आएर आफूलाई यसरी सम्मान गरिएकोमा समाजलाई धन्यवाद दिनुभयो ।

दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान समाजसेवा तथा नेपाली साहित्यको सिर्जना र प्रवर्धनमा निरन्तर रहेर पनि ओझेलमा परेका स्रष्टालाई प्रदान गरिन्छ । ‘समाजसेवा र साहित्यमा निरन्तर क्रियाशील रहे पनि ओझेलमा को छ भन्दै खोज्न निकै कठिन हुने बताउँदै समाजका अध्यक्ष विधान आचार्यले भन्नुभयो: ‘ स्थापित पुरस्कारको मर्मलाई सुहाउँदो व्यक्तिका रूपमा निर्मलालाई पाएर नै नेपाल स्रष्टा समाजले समितिको सिफारिसलाई अनुमोदन गरेको हो ।’ सो सम्मानका लागि श्री साहित्यकार ईल्या भट्टराईका संयोजकत्वमा श्री श्रीओम् श्रेष्ठ रोदन र श्री पुष्पा खनाल रहनुभएको एक सिफारिस समिति बनेको र त्यसैका आधारमा यो सम्मान अर्पण गरिएको बताउनुभयो ।

साहित्यकार नारायण ढकालले स्वागत मन्तव्य राख्दै नेपाल स्रष्टा समाजले योग्य व्यक्तिको चयन गरेर सम्मानहरू अर्पण गर्ने गरेको बताउनुभयो । समाजका संरक्षक पवन आलोक, समाजका निवर्तमान उपाध्यक्ष प्रा.डा. गोविन्दमानसिंह कार्की, राष्ट्रिय निर्माण मा.वि. व्यवस्थापन समितिका अध्यक्ष नवराज फुयाँल, प्रधानाध्यापक पुरुषोत्तम पहाडी र सचिव जानु धितालले शुभकामना मन्तव्य दिनुभएको थियो ।

कार्यक्रममा साहित्यकार ममता मृदुलले सम्मानित स्रष्टाको परिचय राख्नुभएको थियो । सम्मानित खनाल आफू ४० वर्ष पुगेपछि अध्ययन गरेर एसएलसी उत्तीर्ण गरेको र आफूजस्तै पढ्न नपाएका आफ्ना उमेरका महिलालाई पढ्न उत्प्रेरित गर्ने व्यक्ति हुनुहुन्छ । उहाँले महिला विद्यालय खोली ४५ जना महिलालाई शिक्षा दिने काम गर्नुभएको थियो । उहाँका दुई साहित्यिक कृति पनि प्रकाशित छन् ।

प्रत्येक वर्ष प्रदान गरिने यो सम्मानको राशि ११ हजार १ सय ११ रुपैयाँ रहेकामा संस्थापकको आग्रहमा यस वर्षबाट १५ हजार १ सय ११ रुपैयाँ बनाइएको छ । वि.सं. २०७८ का लागि दमन्ता खनाल स्मृति नारी स्रष्टासम्मान भोजपुरकी समाजसेवी तथा साहित्यकर्मी प्रतिमा पोख्रेललाई प्रदान गरिएको थियो । सो कार्यक्रममा समाजका संरक्षक सर्जकहरू नवराज तिमल्सिना अव दोषी, जानु धिताल तथा पुष्पा खनालले सम्मानका विभिन्न पक्षमा प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू