अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

२०७६ र २०७७ को राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न

बिआरटीनेपाल २०७९ वैशाख ५ गते २१:३८ मा प्रकाशित

काठमाडौँ चलचित्र विकास बोर्डले दुई वर्षपछि ४ वैशाख, २०७९ मा राष्ट्रपति भवन, शीतल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र, विशेष योगदान सम्मान तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न गरेको छ ।

हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह कोरोनाको कारणले २०७६ र ०७७ मा हुनसकेको थिएन । त्यसैले पनि यसपटकको पुरस्कार समारोहलाई विशेषरुपमा हेरिएको छ । यस पटक समारोहमा २०७६ र २०७७ गरी दुई वर्ष सार्वजनिक प्रदर्शन भएका चलचित्रहरूमध्येबाट राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको छ । दुई वर्षमा सार्वजनिक प्रदर्शन भएका नेपाली चलचित्रहरू संयुक्त रूपमा निर्णायक समितिले १० विधामा पुरस्कारका लागि बोर्डलाई सिफारिस गरेको थियो । उक्त १० विधागत पुरस्कृतहरूलाई प्रमाणपत्र, नगद पुरस्कार २५ हजार र ट्रफी सहित पुरस्कृत गरिएको छ ।

२०७६ र ०७७ सालमा केन्द्रीय चलचित्र जाँच समितिबाट जाँचपास भएका चलचित्रहरूमध्येबाट चारवटा चलचित्रलाई विशेष चलचित्रबाट पुरस्कृत गरिएको र दुवै निर्णायक समितिलाई समेत सम्मान गरिएको छ । समारोहमा २०७६ र २०७७ को दीर्घ साधना सम्मानबाट दुईजनालाई जनही नगद पुरस्कार ३ लाख ५१ हजार १ सय ११ रूपैयाँ, ताम्रपत्र तथा दोसल्ला सहित सम्मान तथा चलचित्र क्षेत्रका विभिन्न विधाका ३३ जना विशिष्ट व्यक्तित्वहरूलाई समेत विशेष योगदान सम्मानबाट सम्मान गरिएको छ । प्रमुख अतिथि सम्माननीय राष्ट्रपति श्रीमती विधादेवी भण्डारीज्यूबाट पुरस्कार तथा सम्मान प्रदान गरिएको यस कार्यक्रममा माननीय सञ्चार, सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीज्यूको विशिष्ट आतिथ्यता र चलचित्र विकास बोर्डका अध्यक्ष श्री दयाराम दाहालज्यूको अध्यक्षता सहित विशिष्ट महानुभावहरूको उपस्थितिमा समारोह सम्पन्न भएको छ ।

यसै कार्यक्रममा बोर्डबाट प्रकाशन भएको चलचित्र मञ्च २०७८ पुस्तक समेत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू